१५ चैत्र २०८०, बिहीबार
Follow Us

कारको ठक्करले लण्डनमा नेपाली महिलाको मृत्यु

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७५, आईतवार २३:५३

लण्डन– गुडिरहेको कारले   ठक्कर दिँदा लण्डनको हन्स्लो वेष्ट बस्ने एक नेपाली महिलाको मृत्यु भएको छ । पाँचथर थर्पू समाज यूकेकी सदस्य समेत रहेकी अन्दाजी ५०  वर्षिया मिना लिम्बुको बाटो काट्ने वेलामा कारको ठक्करले मृत्यु भएको हो ।
छिमेकी बलराम मैनालीका अनुसार हन्स्लो वेष्टको बाथरोडमा आइतवार दिउँसो बाटोक्रस गर्नेक्रममा कारले ठक्कर दिएको थियो । उनीको दुई छोरा छन् । उनीको श्रीमानको गतवर्ष मात्र निधन भएको थियो । यसै बीच पाँचर समाज युकेले उनको निधनमा दुःख व्यक्त गरेको छ ।

समाजद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

प्रेश बिज्ञप्ति

दुखद खबर !

यस पाँचथर थर्पू समाज यूकेकी एक सक्रिय सदस्य श्रीमती मीना तावाहाङमा लिम्बुको आज लण्डनमा एक दुर्घटनामा परी मृत्यु भएको खबरले आज बेलायतवासी थर्पूवालेजनहरु आज शोकमा डुबेका छन् ।

वेस्ट हन्सलोस्थित आफ्नो निवास नजिकैको बाटो काटिरहँदा तेज गतिमा आइरहेको एक गाडीले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो । स्व. मीना तावाहाङको पार्थिब शरीर हाल हस्पिटलमा राखिएको छ र प्रहरीद्धारा दुर्घटनाका छानवीन हुने भएको छ ।

आफ्नो बुबा भारतीय गोर्खा सैनिकमा सेवारत हुँदा भारतमा बि. स. २०२५ सालमा जन्मेकी स्व. मीनाको माइतघर झापा जिल्लाको गोल्धाप हो र पुख्र्यौली घर पाँचथर जिल्लाको थर्पू (हाल याङवरक गाउँपालीका ४) हो । माध्यमिक शिक्षा लिन उनी २०४४ सालमा झापाबाट पाँचथर गइन् र थर्पू माध्यमिक बिद्यालयबाट २०४७ सालमा प्रवेशिका परीक्षा दिइन् । सोही साल उनको ताप्लेजुङ जिल्लाको हाङपाङ निवासी भिम आङबुहाङसंग विवाह भयो । एउटा दुखद संयोग, पूर्व ब्रिटिश गोर्खा भिम आङबोको पनि गत महिना मात्रै नेपालमा मृत्यु भएको थियो । श्रीमानको काजक्रिया सकेर गत हप्ता मात्र मीना बेलायत फर्केकी थिइन् ।

स्व. मीना तावाहाङले आफ्नो २४ बर्षीय र २० बर्षीय दुई छोराहरुलाई छोडेर गएकी छिन् ।

पाँचथर थर्पू समाज युके स्व. मीना तावाहाङको मृत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै यस दुखद घडीमा उनको शोक सन्तप्त परिवार लगायत सम्पूर्ण तावाहाङ र आङबुहाङ परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

श्री तिल बिक्रम तावाहाङ
अध्यक्ष
साथै सम्पूर्ण पाँचथर थर्पू समाज यूके परिवार

मिति २९ अप्रिल २०१८
लण्डन ।