१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस पदाधिकारी मनोनयन आज, पौडेल पक्ष बैठकमा नजाने

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७५, सोमबार ०५:२०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन गर्नुहुने भएको छ । मनोनयनको निर्णय गर्न आज पार्टीका निर्वा्चित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बस्दैछ । बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी रहेको देउवाको नजिकका नेताहरुले जानकारी दिएका छन् ।

विधानमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारीलगायत सवै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि देउवाले २६ महिनापछि बल्ल पदाधिकारी मनोनयनको तयारी गर्नुभएको हो । सभापति देउवा निकट नेताहरुका अनुसार उपसभापतिमा विमलेन्द्र निधीलाई मनोनयन गर्ने तयारी छ ।

नेताहरु गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि उपसभापति पाउनुपर्ने दावी गरिरहे पनि सभापति देउवाले निधीलाई उपसभापतिका रुपमा प्रस्ताव गर्ने तयारी गर्नुभएको छ । गच्छदारले आफूलाई उप–सभापति बनाउने सहमति गरेर पार्टी एकता गरेको उल्लेख दावी गर्दै आउनुभएको छ । यस्तै, सभापति देउवाले पार्टीको महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कामध्ये एकजनालाई महामन्त्री नियुक्तिको प्रस्ताव गर्ने तयारी गर्नुभएको छ ।

यसैबीच, सभापति देउवाले तीनै पदाधिकारीमा आफू निकटका नेताहरुलाई नियुक्त गर्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु भने बैठकमा नजाने भएका छन् । देउवाले बहुमतका आधारमा पनि आफू अनुकुलको निर्णय गर्नसक्ने भएपछि पौडेल पक्षले बैठक बहिष्कार गरेर विरोध जनाउने भएको हो ।

६४ सदस्यीय रहे पनि खुमबहादुर खड्काको निधन पछि काँग्रेसको केन्द्रीय कार्यसमिति ६३ सदस्यीय छ । अधिवेशनका बेला देउवाको पक्षमा रहेका केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ्ग, चन्द्र भण्डारी र प्रदीप पौडेल अहिले रामचन्द्र पौडेल पक्षमा लागेका छन् । केन्द्रिय कार्यसमितिमा देउवा पक्षको बहुमत छ ।