१५ चैत्र २०८०, बिहीबार
Follow Us

३३ किलो सुन प्रकरण : प्रहरीको छविमा दाग

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७५, सोमबार १२:४२

काठमाडौं । शान्ति सुरक्षा र अमनचयन कायम राख्नुपर्ने नेपाल प्रहरी सुन तस्करीमा मुछिएको पाइयो । सुन्दै नमीठो लाग्ने ३३ किलो सुन प्रकरणले प्रहरीको छविमा दाग लागेको छ । नेपाल प्रहरीका उच्च अधिकारी नै सुन तस्करीको जालोमा जेलिएको पर्दाफास भएसँगै नेपाल प्रहरीको छवि र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको हो । साढे ३३ केजी सुन काण्डमा गृह मन्त्रालयको छानवीन समितिले प्रक्रिया अघि बढाएसँगै हालसम्म २८ जनालाई नियन्त्रणमा लिइएको छ भने तीमध्ये ६ जना प्रहरी अधिकारी नै छन् । यसले सुन तस्करको जालो कति फराकिलो बन्दै गएको छ भन्ने देखाउँछ ।

सनम शाक्यको हत्याबाट सुरु भएको ३३ केजी सुन प्रकरणमा तानिनेमा डीआइजीसम्मका अधिकारी छन् भने तत्कालीन प्रहरी प्रमुखसमेत शंकाको घेरामा परेका छन् । शुरुमै पक्राउ पर्ने प्रहरी अधिकारीहरुमा पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का छन् ।

आइतबार मात्रै पूर्व गएको अपराध महाशाखाका अनुसन्धान टोलीका नेतृत्वकर्ता प्रहरी नायब उपरीक्षक प्रजित केसी पनि पक्राउ परेका छन् भने गृह मन्त्रालयमा बयान सकेलगतै फरार भएका इटहरी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्जय राउत पनि पक्राउ परिसकेका छन् । पक्राउ परेका सबै प्रहरीलाई मुद्दा चलाइएको छ । अनुसन्धान समितिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पनि बोलाएको थियो ।

तर, उनी अहिलेसम्म समितिको सम्पर्कमा छैनन् । खत्री तिनै प्रहरी अधिकारी हनु, जो २३ माघ ०७३ मा दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेर केही दिन थुनामा बसेर अदालतको आदेशले धरौटीमा छुटेका थिए । सुनकाण्डको अनुसन्धान जारी नै रहेको र योसँगै अन्य प्रकरण पनि खुल्दै गएकोले लहरो तान्दा कहाँसम्मको पहरो तानिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।