११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनले जुटायो टोपबहादुरलाई २९ लाख ब्लड मनी

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७५, सोमबार १७:३०

नारायण भुर्तेल । युएई – चितवनका टोपबहादुर बिकलाई नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले १ लाख दिराम (करिब २९ लाख रुपैयाँ) बल्ड मनी नेपाली दूतावास युएईलाई बुझाएको छ।

एनआरएन युएईले शनिबार नेपाली दूतावास अवुधावीमा एक कार्यक्रम गरि उक्त रकम कार्यवाहक राजदूत सागर फुँयाललाई हस्तान्त्रण गरेको हो।

युएईको अल एन स्थित लिमा कन्ट्र्याक्टिङ एलएलसी कम्पनीमा काम गर्ने टोप बहादुर ४ बर्ष पहिले २०१४ जुन २ तारिकका दिन काम गरिरहेको बेला क्रेन दुर्घटनामा परेका थिए। पाकिस्तानी नागरिकले चलाएको क्रेन दुर्घटनामा परेर २ जना थाई नागरिकको मृत्यु भएको थियो। घटनामा संलग्न भएको भन्दै क्रेन अपरेटर पाकिस्तानी नागरिक र क्रेन अपरेटर सहयोगी टोपबहादुर बिक ४ महिना २२ दिन जेल समेत बसेका थिए।

त्यसपछि युएईको अदालतले मृतकका परिवारलाई ब्लडमनी स्वरुप ४ लाख युएई दिर्हाम दिनुपर्ने फैसला सुनाएको थियो। जसमध्ये २ लाख दिर्हाम टोपबहादुरले काम गरेको कम्पनीले दिनु पर्ने र बाँकी दुई लाख क्रेन अपरेटर (पाकिस्तानी नागरिक) र टोपबहादुरले एक एकलाख दिराम ( झण्डै २९ लाख रुपैयाँ) गरि दिनु पर्ने भएको थियो।

उनको उद्दारको लागि नेपाल सरकारले पनि रकम उपलब्ध गराउन नसक्ने बताए पछि एनआरएन युएईले सहयोग संकलन अभियान चलाएको थियो । युएईमा कार्यरत नेपालीहरु र नेपाली संघसंस्थाहरु संग समन्वयन गरेर एनआरएन युएईले उक्त रकम संकलन गरेको हो।

‘धेरै प्रयास र मेहनत पछि टोपबाहादुरलाई नेपाल पठाउन पाउने भएका छौ’, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले नागरिक न्युजसंग भने, ‘यो बल्ड मनि संकलन अभियानमा साथ दिनुहुने युएईमा कार्यरत नेपालीहरु, सबै संघ संस्था र नेपाली दूतावासलाई धन्यवाद दिन चाहान्छु।’ एउटा ऐतिहासिक काम गर्न सफल भएकोमा श्रेष्ठले खुसी ब्यस्त गरेका छन। टोपबाहादुरलाई नेपाल पठाउन पाउनु भनेको युएईमा धेरै संघ संस्था छन तर काम गर्दैनन भन्नेहरुका लागि गतिलो उदाहरण भएको श्रेष्ठले बताए।

अब छिट्टै कानुनी प्रकृया पुरा गरि टोपबहादुर नेपाल फर्काउने युएई स्थित नेपाली दूतावासले जनाएको छ।नयाँ जीवन पाएर नेपाल फर्कन पाउने भएपछि टोपबहादुरले सबै नेपालीहरुलाई धन्यवाद ब्यक्त गरेका छन।