१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संविधान निर्माणका बेला लिएको फन्डबारे निधि र रावलबीच भनाभन

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७३, बुधबार ०७:१०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आयोजित बैठकमा एमाले नेता भीम रावलले उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि आन्तरिक राजनीतिमा भारतलाई घुसाएको आरोप लगाएपछि उत्पन्न तनाव प्रधानमन्त्रीलगायतको हस्तक्षेपपछि नियन्त्रणमा आएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधान तथा रक्षामन्त्री रावलले प्रधानमन्त्रीका विशेष दूतका रूपमा दिल्ली जाँदा निधिले संविधान संशोधनका प्रस्तावित कदमबारे विस्तृत रूपमा भारतीय पक्षसँग छलफल गरेको आरोप लगाएपछि निधिले त्यसको जबाफमा एमाले नेतृत्वको सरकारले पनि संविधानबारे विदेशीसँग छलफल गर्ने गरेको प्रत्यारोप लगाएका थिए ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीचको छलफलमा आरोप-प्रत्यारोपले तनाव उत्पन्न भएको थियो । उपप्रधान तथा गृहमन्त्री निधिमाथि संविधान संशोधनका विषयमा भारतीय स्वार्थ भित्र्याउन खोजेको आरोप पूर्वउपप्रधानमन्त्री रावलले लगाएका थिए । एक नेताका अनुसार एमाले उपाध्यक्षसमेत रहेका रावलले नयाँदिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा निधिले भारतीय नेताहरूसँग ‘संविधान संशोधनलगायत विषयमा छलफल’ गरेको वाक्य पढेर सुनाएपछि बीचैमा निधिले प्रतिवाद गर्न खोजेका थिए ।

संविधान संशोधनमा भारतीय नेताहरूको समर्थन लिन खोजेको भन्दै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न रावलले माग गरेपछि निधिले जबाफ दिने क्रममा भनाभन भएको ती नेताले बताए । ‘संविधान निर्माण गर्ने बेलामा ल्याएको विदेशीको फन्ड र एजेन्डा तपाईंका ल्यापटपमा अहिले पनि सुरक्षित होलान्’, निधिले जबाफमा रावललाई भने । जबाफमा रावल कड्किए, ‘प्रमाण देखाउनुस्, बिनाप्रमाण यस्ता आरोप लगाउन मिल्दैन, यो आपत्तिजनक अभिव्यक्ति हो ।’ निधिले पनि आफूसँग प्रमाण रहेको दाबी गर्दै भने, ‘मसँग प्रमाण छ ।’ त्यसपछि रावल आक्रामक रूपमा प्रस्तुत भए, ‘तपाईंले अहिले नै प्रमाण देखाउनुपर्छ ।’

मन्त्रिपरिषद्को बैठक बस्ने कोठामा भएको छलफल असामान्य दिशामा अग्रसर भएपछि निधि अलि नरम भएर राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले संविधान निर्माणका बेला गरेको खर्च र प्रस्तुत गरेको एजेन्डालाई आफूले केन्द्रित गरेको जबाफ दिएका थिए । निधिले प्रधानमन्त्री दाहालको पत्रमा राजनीतिक विषय नरहेको प्रस्ट्याउँदै सामान्य कूटनीतिक सद्भाव समेटिएको दाबी पेस गरे । त्यतिले पनि स्थिति सामान्य हुन नसकेपछि प्रधानमन्त्री दाहाल आफैंले यस विषयलाई नलम्ब्याउन र विषयवस्तुमा केन्द्रित भएर छलफल गर्न आग्रह गरेका थिए ।