१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय प्रम मोदीको नेपाल भ्रमण : जनकपुरमा बाटाका घरमा केशरिया रंग

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७५, मंगलवार ०५:१०

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित जनकपुर भ्रमणको तयारी तीव्र पारिएको छ । प्रदेश सरकारले ८ वटै जिल्लामा मन्त्री खटाएर तयारीलाई तीव्रता दिएको हो । भौतिक पूर्वाधारमन्त्री तथा मञ्च व्यवस्थापन समिति संयोजक जितेन्द्र सोनलले उनीहरूलाई प्रत्येक जिल्लाको ‘कमान्ड’ सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताए ।

मन्त्री सोनलले आइतबार भ्रमणको तयारीबारे सरोकारवालासँग छलफल गरे । ‘भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण प्रदेशका लागि मात्र होइन, मुलुककै प्रतिष्ठाको विषय हो । भ्रमणलाई भव्य एवं सभ्य बनाउन प्रत्येक नागरिकको सहयोग तथा सद्भाव आवश्यक छ,’ उनले भने । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको आधिकारिक तालिका सार्वजनिक नभए पनि प्रदेश सरकारले वैशाख २८ गते बिहान ९ बजेका लागि तयारी थालेको छ ।

मोदी र उनको टोली ३ वटा हेलिकप्टर चढेर जनकपुर आउने हुनेछ । हेलिकप्टर बाहबघा रंगभूमि मैदानमा अवतरण गर्नुहुनेछ । त्यसपछि जानकी मन्दिरमा पूजापाठ हुनेछ । मन्दिरबाट मोदी पुनः रंगभूमि मैदान फर्किनुहुनेछ । जहाँ प्रदेश सरकारका तर्फबाट उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । भौतिक पूर्वाधारमन्त्री सोनलले प्रदेश सरकार भारतीय प्रधानमन्त्री मोदीलाई सार्वजनिक अभिव्यक्ति (भाषण) का लागि आग्रह गर्ने जानकारी दिनुभयो । बाहबघादेखि जानकी मन्दिरसम्मको सडक निर्माण थालिएको छ ।

स्थानीय बासिन्दासँग प्रत्यक्ष भेट्न रुचाउने भारतीय प्रधानमन्त्री मोदी बाह्रबिघादेखि जानकी मन्दिरसम्म पैदल पनि जान सक्ने अनुमान गरेर प्रदेश सरकारले त्यसैअनुसारको वैकल्पिक व्यवस्था पनि मिलाएको छ । ‘मोदी जनतासँग प्रत्यक्ष भेट्न मन पराउनु हुन्छ । उहाँ मोटरमा जाने कि पैदल त्यो पछि टुंगो लाग्छ । तर, हामी दुवै विकल्पका लागि तयार छौं,’ मन्त्री सोनलले भन्नुभयो । उनका अनुसार झन्डै ५ सय मिटरको यो मार्गको दुवैतर्फ फूलका गमला राखिनेछन् ।

जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाका अनुसार मार्गमा पर्ने घरहरूलाई केसरिया रङले रंगाउने तयारी हुँदैछ ।
भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिने रंगभूमि मैदानमा प्रदेश सरकारले करिब ५० हजार मानिस बस्न सक्ने वाटरप्रुफ पन्डाल र क्याबिन, शौचालयसहितको मञ्च निर्माण गर्ने तयारीमा जुटेको छ । मोदीको अभिनन्दन समारोहमा १ लाखभन्दा बढी मानिसको सहभागिता रहने प्रदेश सरकारको आकलन छ ।