१५ चैत्र २०८०, बिहीबार
Follow Us

खेलाडी बेपत्ता प्रकरण छानबिन गर्न समिति गठन

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७३, बुधबार ०७:३१

काठमाडौं । मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मङ्गलबार छानबिन समिति गठन गरेको छ ।

उक्त खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुदप्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी सङ्घलगायतले छानबिनको माग गरेका थिए ।

राखेपले आफ्ना सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।

समितिका सदस्यमा राखेपअन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानुन शाखाका प्रमुख नारायण अर्याल रहेका छन् । समितिलाई सात बुँदामा केन्द्रित रहेर सत्यतथ्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

समितिलाई सो कार्यमा कस्को संलग्नता रहेको छ, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेका हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्व स्वीकृति नलिई किन प्रतियोगितामा भाग लिएको भन्ने विषयमा छानबिन गर्न भनिएको छ । त्यस्तै आइसिसीको निर्देशनअनुसार राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटामार्फत खेलाडीलाई स्पष्टीकरण पनि सोध्न भनिएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।