११ बैशाख २०८१, मंगलवार
Follow Us

फरार एसएसपी खत्रीलार्इ पक्राउ गर्न सर्कुलर

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७५, मंगलवार ०९:२९

काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री फरार भएपछि उनलार्इ पक्राउ गर्न सर्कुलर जारी गरिएको छ । बरामद सुन हराएको भन्दै सनम शाक्य हत्याकाण्डमा समेत उनको संलग्नता भेटिएपछि छानबिन समितिले उनलाई बयानका लागि उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । तर उनी बयानका लागि उपस्थित नभएर फरार छन् । स्रोतका अनुसार फरार एसएसपी श्याम खत्रीलाई खोज्न प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएको थियो। समितिले बोलाउनुभन्दा केही दिनअघि विदामा बसेका खत्री त्यसपछि कार्यालय फर्केनन् । समितिले खत्रीका चालक प्रहरी जवान विष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी सम्पर्कविहीन भएका हुन् । सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ को सुन राख्ने कोठाबाट बरामद भएको कागजपत्रमा एसएसपी खत्रीको लेनदेन र टेलिफोन सम्पर्कसमेत देखिएको छानबिन समितिले जनाएको छ ।

सुन गायव बनाएको भन्दै सनम शाक्यको हत्यापछि फरार भएका गोरे र एसएसपी खत्रीको पहिलादेखि सम्पर्क रहेको समितिको अनुसन्धानमा देखिएको छ । २०७३ पुष २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको सुन पनि गोरेकै भएको र उक्त सुन भन्सार कटाउन खत्रीको भुमिका रहेको खुलेको थियो । त्यतिबेला खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरिएको थियो। सो मुद्दामा अदालतबाट धरौटीमा छुटेका खत्री पुनः कार्यालयमा हाजिर भएका थिए। तर छुटेपछि पनि उनकाे गाेरेसँगकाे सम्पर्क जारी रहेको अनुसन्धानबाट खुलेको हो ।