७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती पर्यटक नेपाल भित्र्याउन आह्वान

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७५, मंगलवार १६:४४

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल विदेशी पर्यटकहरुकाला‌गि पूर्णरुपमा सुरक्षित रहेको बताउँदै ब्रिटिश पर्यटकहरुलाई नेपाल आउन आह्वान गरेका छन्।

सोमबार बेलुका लण्डनको मेफेयरस्थित डरचेस्टर होटलमा ब्रिटिश पर्यटन व्यवसायीहरुको एक भेलालाई संबोधन गर्दै जोशीले तीन वर्ष अघिको भूकम्पको प्रभावबाट नेपाल फेरि पहिलेकै स्थितिमा फर्किएको बताए। उनले गत वर्ष नेपाल आउने पर्यटकहरुको संख्यामा २६ प्रतिशतले वृद्धि भएको पनि जानकारी दिए।

बहादुर गोर्खा सैनिकहरुको मुलुक नेपाल यात्रा गर्न संसारमै सबैभन्दा सुरक्षित रहेको बताउँदै उनले २५६२ औं बु्द्धजयन्तीको अवसरमा सबैलाई शुभकामना पनि दिए।

पर्वतारोहणदेखि पदयात्रासम्म, साहसिक पर्यटन देखि योग र ध्यानकालागि पनि नेपाल एउटा लोकप्रिय पर्यटन स्थल रहेको बताउँदै सबै उमेरसमूहका पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको उनले बताए। “नेपाल वान्स इज नट इनफ” भन्ने नारा दोहोराउँदै उनले सबै टुर अपरेटरहरुलाई नेपाललाई प्रबर्द्धन गर्न आग्रह पनि गरे।

नेपाल तथा बेलायतबीच २०० वर्ष पुरानो संबन्ध रहेको र त्यो आपसी मित्रता र सहयोगमा आधारित रहेको बताउँदै उनले ब्रिटिश पर्यटकहरुलाई स्वागत गर्न नेपाल तत्पर रहेको सन्देश पनि दिएका थिए।

ज्याकब्स मिडिया ग्रुपद्वारा आयोजना गरिएको ‘द ब्रिटिश ट्राभल एण्ड हस्पिटलिटी हल अफ फेम डिनर’ कार्यक्रममा ब्रिटेनको पर्यटन तथा आतिथ्य व्यवसायमा उल्लेखनीय योगदान पुराउने व्यक्तिहरुलाई संमान गरिएको थियो। त्यस्तै विभिन्न क्याटगरीमा छानिएका युवा व्यवसायीहरुलाई पुरस्कृत पनि गरिएको थियो। कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पशुपति भण्डारी, डेनमार्ककालागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटा, बुद्ध नेपाल फाउण्डेशन युकेका दीपक श्रेष्ठ लगायतको उपस्थिति थियो।