१४ बैशाख २०८१, शुक्रबार
Follow Us

३३ किलो सुन : ६३ जनाविरुद्ध मुद्दा दर्ता, १७ अर्बको सुन तस्करी, पत्रकारलाई एसएसपीको लात्ती

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०७५, बुधबार १५:०९

विराटनगर । साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि मुद्दा दर्ता भएको हो । यस घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको हो ।

उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी भयो ।

आपराधिक समूह स्थापना, सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्यज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । छ जना पूर्व तथा वर्तमान प्रहरी पदाधिकारीमाथि सुनचाँदीको अवैध कारोवार सम्बन्धमा, छ जनामाथि ज्यान मुद्दा, १३ जना विमानका कर्मचारी र तीन जना सुन व्यापारी गरी २९ जनामाथि मुद्दा दर्ता गरिएको हो ।

गत माघ ७ गते दुवईबाट तस्करहरुले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो । हराएको सो सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । उनको शव विराटनगरमा गत फागुन १८ गते एउटा गाडीमा फेला परेको थियो ।

सोअन्तर्गत मुद्दा दर्ता गरिएकामा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान र लालबहादुर मगर छन् ।

वीरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, राजन थापा, अमरमान डङ्गोल, तुलाराम थारुमाथि मुद्दा दर्ता गरिएको छ ।

प्रहरीका छ पूर्व तथा बहालवाला पदाधिकारीविरुद्ध मुद्दा

सुन तस्करी प्रकरणमा पक्राउ परेका सात जना प्रहरी पदाधिकारीमा पूर्वप्रहरी नायब महानिरिक्षक गोविन्दप्रसाद निरौला, बहालवाला वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षकत्रय सञ्जयबहादुर राउत, प्रजित केसी र बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का छन् ।

छानविन समिति
यस घटनाको सम्बन्धमा गृह मन्त्रालयले गत चैत २० गते एक महिनाका लागि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा राष्ट्रिय अनुसन्धान शाखाका निर्देशक हुतराज थापा, वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामा, गृह मन्त्रालयका उपसचिव भविष्वर पाण्डे, उपन्यायधिवक्ता हरि रेग्मी, प्रहरी उपरीक्षक सुदिप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं, कानून अधिकृत भोजराज दाहाल र सई सुमन कार्कीसहित नौ जना हुनुहुन्छ ।

सन्चारकर्मीमाथि लात्ती प्रहार
साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले सन्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् । बुधबार मोरङ जिल्ला अदालत परिसरबाट निस्कनेक्रममा लोहनीले सन्चारकर्मीहरुमाथि हातपातको प्रयास गरेका हुन् । उनले इमेज च्यानलका मोरङ संवाददाता ध्रुव भट्टराई र पत्रकार सुमन सुस्केरामाथि लात्ती हान्ने कोसिस गरेका हुन् । अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनी पत्रकारमाथि जाइलागेका थिए । लोहनीले प्रहार गरेको लात्ती क्यामेरामा लागेको थियो ।