१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको तलब दोब्बर वृद्धि, कोषाध्यक्षद्वारा विरोध

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७५, बिहीबार १४:२७

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको तलब झन्डै दोब्बरले वृद्धि गरिएको छ । केन्द्रीय कार्यालयमा दुईजना मुख्यसचिव, पाँचजना सचिवसमेत २५ जना कर्मचारी छन् । नौ महिनाअघि मुख्यसचिवको मासिक ३५ हजार, सचिवको ३० हजार र सबैभन्दा तल्लो तहका कर्मचारीको ११ हजार रुपैयाँ तलब थियो । महामन्त्री डा. शंशाक कोइरालाले तलब बृद्धि गरी मुख्यसचिवको ४८ हजार, सचिवको ४५ हजार र सबैभन्दा तल्लो तहका कर्मचारीको १८ हजार पु-याएका थिए । पार्टीको १२औं महाधिवेशनपछि कर्मचारीको तलब बृद्धि भएको थिएन ।

यसअघि कांग्रेसका २०७ जना सांसदले लेबी बुझाउँथे भने यतिबेला ६३ सांसदले लेबी बुझाउँछन् । तर नेपाल सरकारका निजामती कर्मचारीसरह तलब हुनुपर्ने माग केन्द्रीय कार्यालयका कर्मचारीहरूको छ । जिल्ला कार्यालय तथा गाउँ–नगर कार्यालयका कर्मचारीको तलब भने केन्द्रले निर्धारण गर्ने परम्परा छैन ।

कर्मचारीको सुविधा बढाउने प्रस्तावलाई कोषाध्यक्ष सीता यादवले अस्वीकार गरेकी छन् । चुनावमा भएको पराजयसँगै पार्टीमा लेबी उठ्नेक्रम घटेको भन्दै कोषाध्यक्ष यादवले तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेकी हुन् । महामन्त्री कोइरालाको तोक आदेशमा नौ महिनाअघि केन्द्रीय कार्यालयका कर्मचारीको तलब वृद्धि गरिएको थियो । सोहीअनुसार कर्मचारीहरूले नौ महिनाको तलव खाइसकेका छन् ।

अहिले आएर कोषाध्यक्षले अस्वीकार गर्दा अन्योलता बढेको छ । महामन्त्री कोइराला र कोषाध्यक्ष यादव दुवैजनाको कदम विधानविपरीत होइन । तर महामन्त्री कोइरालाले कोषाध्यक्ष यादवसँग परामर्श नगरी तलब वृद्धिको प्रस्तावमा तोक आदेश गरिदिएका कारण अन्योलता बढेको हो । विधानतः केन्द्रीय कार्यालय सञ्चालनको जिम्मेवारी महामन्त्रीको हुन्छ ।