१३ बैशाख २०८१, बिहीबार
Follow Us

मासिक दश लाख लिटर दूध उत्पादन

sarusaru
२१ बैशाख २०७५, शुक्रबार ०३:३१

काठमाण्डौ-रत्ननगर नगरपालिका , चितवनका किसानले सुरू गरेको व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ ।
यहाँका किसानले सुरू गरेको पशुपालनबाट आशातित आम्दानी गर्न सफल भएका छन् । विदेशबाट स्वदेश फर्किएर, परम्परागत खेती गर्न छाडेर युवा तथा किसानले व्यावसायिकरुपमै पशुपालन व्यवसाय सुरू गरेका हुन् । रत्ननगर व्यावसायिक पशुपालन फष्टाउँदै गएपछि दूध उत्पादन पनि वृद्धि भएको छ । रत्ननगरमा उत्पादित दूधले राष्ट्रिय माग पूर्ति गर्नुका साथै किसानलाई पनि आर्थिकरुपमा सबल बनाएको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालेले बताए ।
रत्ननगरमा मासिक १० लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । दैनिक ३५ हजार दूध उत्पादन हुन्छ । रत्ननगरमा १५ वटा ठूला, ५० वटा मझौला र २० भन्दा बढी साना गाई फर्महरु रहेका छन् । यहाँका गाई फर्ममा ५ देखि ५० वटासम्म किसानले गाई पालेका छन् । वडा नं. १० का सफल माली र मालिका पशुपालन फर्म रत्ननगरका नमुना गाई फर्म हुन् । यी फर्मका सञ्चालकले ४०÷४५ वटा गाई व्यावसायिकरुपमै पालेका छन् । सफल माली र मालिका गाई फर्मले दैनिक १५० लिटरसम्म दूध उत्पादन गरेका छन् ।
४० गाई रहेको सफल माली गाई फर्मकी सञ्चालिका इश्वरी पुरीले दैनिक १५० लिटर दूध उत्पादन हुने गरेको र खर्च कटाएर मासिक एक लाख रुपैयाँ आम्दानी हुने गरेको बताइन् । ‘दुःख बढी छ’ उनले भनिन्, ‘पशुपालनले भएको आम्दानीले दुःख बिर्साउने गरेको छ ।’ रत्ननगर–६ बछौलीका सत्यनारायण चौधरीको गाई फर्ममा अहिले २२ वटा गाई छन् । उनले विगत पाँच वर्षदेखि व्यावसायिकरुपमै गाईपालन सुरू गरेका हुन् । शिक्षण पेसा र वैदेशिक रोजगारी त्यागेर पशुपालन सुरू गरेका चौधरीले मासिक ६० हजार रुपैयाँ घरमै बसेरै कमाउने गरेका छन् । ‘आफ्नै पौरखले घरमै पैसा कमाएको छु’ उनले भने, ‘मैले सुरू गरेको पशुपालनबाट म सन्तुष्ट छु ।’
रत्ननगरमा त्यतिकै पशुपालन फष्टाएको होइन । किसानको मिहिनेत र सरकारी सहयोगका कारण यहाँ पशुपालन व्यवसाय फष्टाउँदै गएको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष बगाललेले बताए । पशुपालनमा रत्ननगरलाई अब्बल बनाउन जिल्ला पशुसेवा कार्यालयसहित मन्त्रालय, रत्ननगर नगरपालिकाले घाँस खेती प्रवद्र्धन, बिमा, अनुदान, पशु स्वास्थ्य, गोठ सुधारको लागि आवश्यक सहयोग भएको अध्यक्ष बगालेले बताए । दूधको लागत मूल्य घटाउन रत्ननगरका किसानले घाँसमा आधारित पशुपालन गरेका छन् ।
जुन राष्ट्रियस्तरमै नमुना हो । यहाँका पशुपालन गर्ने किसानले पाँच बिघासम्म क्षेत्रफलमा घाँस खेती गर्दै आएका छन् । सरकारी सहयोगमा व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरले किसानका लागि वार्षिक २० टन घाँसको बीउ वितरण गर्दै आएको छ । नगरपालिकाले घाँस खेती गर्ने किसानलाई जग्गा भाडामा दिने व्यवस्था मिलाइएको छ । सरकारी तबरबाट किसानलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गरेर नमुना पशुपालनको रुपमा विकास भइरहेको रत्ननगरको पशुपालनको अवस्था अवलोकन गर्न भरतपुर महानगरपालिका–१४ का किसानहरु मंगलबार रत्ननगरमा पुगे ।
अध्यक्ष बगाललेले किसानलाई आफूले गरेका कामको बेलिविस्तार लगाए ।
मेयर नारायण वन र उपमेयर विमला दुवाडीले पनि नगरको पशुपालनको विकासका लागि नगरपालिकाले गरेको काम र भावी योजनाका बारेमा प्रकाश पारे । भरतपुर महानगरपलिका–२४ का वडा अध्यक्ष कान्छा मल्ल र समाजका केन्द्रीय प्रवक्ता चितवनका अब्बल पशुपालक किसान हरि अधिकारीको नेतृत्वमा आएको टिमले पशुपालनमा आफूले भोग्दै आएका समस्या सुनाए । कार्यक्रममा उपमेयर दुवाडीले कृषि र पशुपालनमा नगरपालिकाले गरेको लगानी खेर जान नदिने बताइन् । मेयर नारायण वनले किसानलाई साहु बनाउने गरी पशुपालको विकासको लागि लगानी गर्ने बताए । अझै यहाँको पशुपालन फष्टाउन आवश्यक रहेको भन्दै उनले किसानले गर्ने मिहिनेतमा पूरा सहयोग गर्ने बताए । उनले बन्द रहेको टिकौलीको दुग्ध प्रशोधन केन्द्र र पशु हाटबजार किसानकै लगानीमा पुनः सञ्चालनको लागि प्रस्तावसमेत गरे ।