१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचनका लागि कानुन बनाउन निर्देशन

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७३, बुधबार १४:३९

काठमाडौं । व्यवस्थापिका–संसद्, विकास समितिले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने कानुनको तत्काल मस्यौदा गरी संसद्मा पेस गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने कानुन बनाउन सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देश गरेको हो ।

समितिका सभापति रवीन्द्र अधिकारीले बैठकले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने स्थानीय तहको संरचनालाई वैज्ञानिक र स्पष्ट मापदण्डका आधारमा छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिनुभयो ।

बैठकमा स्थानीय विकासका सन्दर्भमा समितिले हालसम्म दिएका निर्देशनको कार्यप्रगति÷कार्यान्वयनको अवस्था, स्थानीय तहको निर्वाचनको सन्दर्भ र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम परिचालनलगायत विषयमा छलफल भएको थियो ।

समितिले स्थानीय विकासका सन्दर्भमा हालसम्म दिएका निर्देशनको कार्यान्वयन सन्तोषजनक नै रहेको जनाउँदै निर्देशनको अझ बढी प्रभावकारी कार्यान्वयन गर्ने÷गराउनेतर्फ ध्यान केन्द्रित गर्न समेत निर्देशन दिएको छ ।

साथै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी नियमावली नहँुदा विकास कार्यक्रमहरुको सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो नियमावली तयार गर्न समितिले मन्त्रालयलाई निर्देश गरेको छ ।