१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हत्यामा संलग्न तीनजना पक्राउ

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०७५, शुक्रबार ०५:३६

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–५ का पदमलाल चौलागाईसहित हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सो घटनामा संलग्न चौलागाईकी पत्नि जमुना चौलागाई र छोरी सन्तोषी चौलागाई रहेका छन् ।

चौलागाईले आफ्नै छोराबुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई घरायसी झगडाको विषयमा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार गत वैशाख १७ गते राति १०:३० बजेको समयमा मारेर फालेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले चौलागाईलाई वैशाख १९ गते पक्राउ गरेको हो ।

“प्रहरी अनुसन्धानको क्रममा चौलागाईले आफ्नै छोराबुहारीलाई मारेर सिस्नु घारीमा फालेको र पछि श्रीमती र छोरीको सहायताले बोकेर लगेर घरदेखि करीब ५०० मिटर टाढाको जंगलमा गाडिएको फेला परेको छ ।” प्रहरी प्रमुख थापाले भन्नुभयो, “तीनैजनालाई कर्तव्य ज्यानअन्तर्गतको जाहेरी परिसकेको छ, कानूनी कारबाहीको लागि अनुसन्धान जारी राखिएको छ ।”

मृतकको शव परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।