११ बैशाख २०८१, मंगलवार
Follow Us

ओली र दाहालबीच चार बुँदे सहमति, पार्टी एकता निर्णायक मोडमा

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०७५, शुक्रबार ०८:१५

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ४ बुँदे सहमति भएको छ । यो सहमतिसँगै पार्टी एकता निर्णायक मोडमा पुग्ने विश्लेषण गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच त्यस्तो सहमति भएको हो।

दुई शीर्ष नेताहरुबीच भएको बिहीबारको सहमतिलाई औपचारिकता दिन एकदुई दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठकमा पेश गर्ने समझदारी समेत भएको छ । पार्टी एकता अन्तिम निर्णय पुगेको , त्यसको औपचारिक अनुमोदनका लागि एक दुई दिनमै संयोजन समितिको बैठक डाकिने बताइएको छ । समाचार स्रोतका अनुसार सोही बैठकलाई वाम एकीकरणको मितीसमेत घोषणा गर्ने जिम्मा दुई शीर्ष नेताले दिएका छन् ।

उनीहरुले चार बुँदै सहमतिको खाका समेत तयार पारेको बुझिएको छ । यसअघि पार्टी एकीकरणका विषयमा छलफलका गर्न माओवादी अध्यक्ष दाहालले एमाले नेता माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। तर प्रधानमन्त्री ओली व्यस्त बनेपछि दाहालले करिव एक घण्टा ओलीलाई कुरेका थिए ।

ओली र दाहालबीच चार बुँदे सहमति

१) कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन उचित भएकाले त्यसको अनुमोदनका लागि सामान्य भाषा परिमार्जन सहित एकता संयोजन समितिमा पेश गर्ने।

२) माओवादी ‘जनयुद्ध’ बारे राजनीतिक प्रतिवेदनमा जुन स्पिरिटमा उल्लेख गरिएको छ त्यही स्पिरिटमा विधानमा पनि उल्लेख गर्ने।

३) एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य नै राख्ने।

४) बराबरीको मान्यतका आधारमा कम्तिमा पनि तीन सय ७५ सम्मको एकीकृत केन्द्रीय समिति निर्माण गर्ने ।