१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नक्कली सर्टिफिकेट पेस गरेर जागीर खानेविरुद्ध मुद्दा

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०७५, शुक्रबार १५:०७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको जनाउँदै छ कर्मचारीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी नायब निरीक्षक नगेन्द्रकुमार भगत, सरस्वती चौतारा निमावि तुल्सीपुर दाङका शिक्षक अञ्जना शाह र पद्मकन्या मावि डिल्लीबजार काठमाडौँका धनप्रसाद घिमिरेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर सेवा गरेको पाइएकाले मुद्दा दायर गरिएको हो ।

यस्तै पूर्वाञ्चल विश्वविद्यालयका पुस्तकालय सहायक अमीर श्रेष्ठ, विराटनगर महानगरपालिका मोरङका खरिदार धनकुमार लामा र प्राथमिक विद्यालय बारुटोल रौतहटका राहत शिक्षक उषा यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणत्र पेश गरेर सेवा गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।