१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकारको संगठनमा हायर फायरको चेतावनी

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७५, शनिबार ०५:२५

काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ ।

नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने वैधानिक व्यवस्थाविपरीत संगठनका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलनलगायत पदाधिकारीको सहभागितामा अराजनीतिक र विधानविपरीतका कार्य भएको भन्दै चौतारीका अध्यक्ष गणेश बस्नेतले विज्ञप्तिमार्फत कारवाहीको चेतावनी दिनुभएको हो ।

महासंघको निर्वाचनमा प्रदेश नं ७ का अध्यक्षमा चौतारीका हरिप्रसाद जोशीलाई उम्मेदवार बनाउन अध्यक्ष बस्नेतले निर्देशन दिएकामा केही पदाधिकारीले अर्जुन शाहलाई उम्मेदवार बनाइएको भनी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि केन्द्रीय सचिवालयको आकस्मिक र उपलब्ध सदस्यको शुक्रबार साँझ बसेको बैठकले अनुशासन कायम गर्न कारवाहीसमेत गर्नुपर्ने चेतावनी दिएको हो ।

चौतारीका महासचिव राई र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सो प्रदेशका अध्यक्षमा शाह उम्मेदवारी रहेको विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो । बैठकले शाहलाई उम्मेदवारी फिर्ता लिन र नदिएमा संगठनबाट निष्काशन गर्ने चेतावनी दिएको छ ।

प्रदेश नं ७ मा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर नेपालका अध्यक्षले पत्रकार जोशीलाई अध्यक्षमा साझा उम्मेदवार बनाउने समझदारी गरी सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन् । महासंघको प्रदेश निर्वाचनमा अधिकांश स्थानमा निर्विरोध भइसकेको छ ।