६ बैशाख २०८१, बिहीबार
Follow Us

नगरप्रमुखमाथि आक्रमणपछि घर तोडफोड

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७५, शनिबार १४:५६

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ । यही वैशाख ८ गते घरमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका प्रमुख श्रेष्ठको घरमा गएराति तोडफोड गरिएको हो ।

सोही घरमा सहकारी सञ्चालन गर्दै आउनुभएका चन्द्रभक्त श्रेष्ठले घटनाका बारेमा जानकारी दिँदै भन्नुभयो, “सिसी क्यामराको दृश्य हेर्दा राति दुईजनाको समूहमा आएका व्यक्तिले प्रमुख श्रेष्ठको घरको मूलढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।”

नेपाल–कोरिया मैत्री अस्पतालमा उपचाररत प्रमुख श्रेष्ठले भन्नुभयो–“घरमा तोडफोड भयो भन्ने सुनेँ, ममाथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राऊ परेका छैनन्, फेरि आज घरमा तोडफोड भयो, खै के कारबाही होला र ?”

महानगरीय प्रहरी वृत्त, थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले नगरप्रमुख माथिको आक्रमणसँग तोडफोडको घट्ना जोडिएको नपाइएको बताउनुभयो । तोडफोड गर्ने नियत भन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै उहाँले घटनाबारे अनुसन्धान शुरु गरेको बताउनुभयो ।

यसैबीच, नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी १५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । मध्यपुरथिमिमा आज भएको स्थानीयको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दबाब दिन, नगर प्रमुखको सुरक्षा गर्न र घटनाको विरोध गर्न समिति गठन गरिएको समितिका नवीनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।