१५ चैत्र २०८०, बिहीबार
Follow Us

यातायात व्यवसायी संघ कम्पनी बनाएर गाडी चलाउन तयार

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७५, आईतवार ०५:००

काठमाडौं । पूर्व नेपाल यातायात व्यवसायी संघ कम्पनी बनाएर गाडी चलाउन तयार भएको छ । संघका महासचिव धर्मानन्द साहले सरकारको निर्णय अनुसार आफूहरु समिति भंग गरेर कम्पनीमा गाडी चलाउन तयार रहेको पत्र जिल्ला प्रशासन कार्यालयमा पठाएपछि शनिबार बिहान पक्राउ परेका तीन जनालाई रिहा गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सार्वजनिक यातायात वन्द गरेपछि पक्राउ परेका पुर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाइ, कोशी वस व्यवसायी संघका नारायण अधिकारी र पूर्व नेपाल यातायात व्यवसायी संघका टिका भट्टराईलाई रिहा गरिएको उहाँले बताउनुभयो ।

पूर्व नेपाल यातयात व्यवसायी सघ प्रदेश नं १ को सवैभन्दा बढी २ सय ७५ वटा वस भएको समिति हो । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले अप्सरा यातायातले पनि कम्पनीमा दर्ता भएर गाडी चलाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

पूर्व नेपाल यातायात ब्यवसायी संघमा आवद्ध ब्यवसायी समितिलाई नै निरन्तरता दिने कि कम्पनीका रुपमा गाडी चलाउने भन्ने विषयमा एकमत भने छैनन् । संघको नाममा महासचिव धर्मानन्द साहले हस्ताक्षर गरेको पत्र मार्फत जिल्ला प्रशासन कार्यालयमा पठाएपछि समितिका पदाधिकारीबिचमा विवाद शुरु भएको हो ।