८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती विदेश राज्यमन्त्रि नेपाल भ्रमणमा

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७५, आईतवार ०५:२८

बेलायतका एसिया तथा प्रशान्त मामिला हेर्ने विदेश राज्यमन्त्री मार्क फील्डले यही आइतवार देखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई नयाँ संसद र संघीय सरकार गठन भएपछिको बेलायत सरकारको उच्च तहमा हुन लागेको यो पहिलो भ्रमण भएको लन्डन स्थित नेपाली दुतावासले जनाएको छ ।
यसै बीच बेलायतको लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले विहिबार विदेश राज्यमन्त्री फिएल्डसँग शिष्टाचार भेट गरी उनको आसन्न भ्रमणको तयारी बारे जानकारी गराएका छन् |
राजदूत डा. सुवेदीले नवनिर्वाचित सरकारले आर्थिक विकास र समृद्धिलाई राष्ट्रिय एजेण्डाका रुपमा अंगीकार गरेको वर्तमान परिप्रेक्ष्यमा दुई सय वर्ष भन्दा लामो घनिष्ट र ऐतिहाँसिक सम्बन्ध थप प्रगाढ बनाउन र पर्यटन, व्यापार र लगानीका क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको नेपाली दुतावासका प्रवक्ता शरदराज आरणले जनाए ।

भेटमा फील्डले जननिर्वाचित सरकारले घोषणा गरेको आर्थिक विकासको लक्ष्यमा सहकार्य गर्न बेलायत तत्पर रहेको बताउदै भ्रमण दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न सहयोगी हुने विचार ब्यक्त गरे ।

राज्यमन्त्री फील्डले नेपालको दुई दिने भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुसँग शिष्टाचार भेट तथा वार्ता गर्ने कार्यक्रम रहेको छ । उनले नेपालको उद्योग, वाणिज्य तथा व्यापारसंग सम्वद्ध पदाधिकारीहरुसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।