८ बैशाख २०८१, शनिबार
Follow Us

आगलागी पीडितलाई घर हस्तान्तरण

sarusaru
२३ बैशाख २०७५, आईतवार ०५:३९

बाबियाचौर, म्याग्दी – मालिका गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

गत फागुनमा आगलागीबाट घर जलेर ध्वस्त भएपछि बिचल्लीमा परेका चन्द्रबहादुर दमाईंलाई बिमको हिराजीत स्मृति युवा क्लबका पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयवासी, प्रवासीबाट सहयोग तथा श्रमदान जुटाएर विपन्न समुदायका दमाईंका परिवारलाई बरण्डा सहितको एक वटा कोठा भएको घर उपलब्ध गराइएको हो । घर निर्माणका लागि रु एक लाख ५३ हजार ३९७ संकलन भएकामा रु एक लाख १३ हजार ६७५ खर्च भई बचत भएको रु ३९ लाख ७२२ क्लबको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण

म्याग्दीको मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गरिएको छ । समुन्द्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित टोड््केमा सरकारी निकाय र समुदायले पदमार्ग, सडक, विश्रामस्थल, सार्वजनिक शौचालय निर्माणका साथै स्वर्गद्वारी आश्रमको शाखाका रुपमा चिनिने मन्दिरको जीर्णोद्धार गरेका हुन् ।

पर्यटन कार्यालय पोखराको रु ३१ लाख सहयोगमा टोड्के क्षेत्रमा एक हजार ३०० मिटर पदमार्ग र बसेर दृश्य अवलोकन गर्न मिल्ने गरी प्रतीक्षालय निर्माण गरिएको टोड्के क्षेत्र विकास समितिका उपाध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो ।
तत्कालीन जिविसको सहयोगमा टोड्केमा समितिको भवनसमेत निर्माण गरिएको थियो भने वनभोज स्थल र खेलकूद प्रतियोगिताका लागि खेलमैदान बनाइएको छ ।
टोड्के नजिकैको झीँ र पूर्ण गाउँका बासिन्दाले पर्यटकको सुविधाका लागि होमस्टे शुरु गरेका छन् । गुराँसे जंगलको बीचमा रहेको टोड्केको प्रचारप्रसार र सम्भावना उजागर गराउन विसं २०६५ र २०७२ मा महोत्सवको आयोजना गरिएको थियो । टोड्केबाट गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खलालाई नाङ्लोको घेरा झँै नजिकबाट अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा पाखाभरि राताम्मे भएर ढकमक्क फुल्ने लालीगुराँस टोड्केको थप आकर्षण हो ।
रासस