१२ बैशाख २०८१, बुधबार
Follow Us

३३ किलो सुन : १५ जनाको वयान सकियो

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७५, आईतवार १३:४८

मोरङ । साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको वयान जारी छ । जिल्ला अदालत मोरङमा आइतवारसम्म १५ जनाको वयान लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालय मार्फत सो काण्डमा ६३ जना विरुद्ध सुन चोरी पैठारी निकासी, कर्तव्य ज्यान, अपहरण र संगठित अपराध अन्तर्गत संलग्नताका आधारमा बुधवार छुट्टाछुट्टै मुद्दा दर्ता गराएको थियो ।

पहिलो पटक अत्यधिक संख्यामा बहालवाला उच्च प्रहरी अधिकृतहरु विरुद्ध दर्ता गराइएको मुद्दामा पूर्व प्रहरी नायब महानिरीक्षक बाहेक ८ जना बहालवाला प्रहरीहरु रहेका छन् । वाँकी पक्राउ परेकाहरुको वयान लिन मंगलवारसम्म लाग्ने र त्यसपछि थुनछेकको बहस हुने मोरङ जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणमा ९ जना पूर्व प्रहरी र बहालवाला प्रहरीलाई मुद्दा चलाइएको छ । मुद्दा चलाइएकाहरुमा पूर्व प्रहरी डिआईजी गोविन्द निरौला, तत्कालीन अपराध अनुसंधान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल र प्रहरी नायब उपरीक्षक संजयबहादुर राउत, प्रहरी जवान विष्णु खड्का प्रहरी हिरासतमा छन् ।