१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

sarusaru
२४ बैशाख २०७५, सोमबार ०२:४६

बाबियाचौर, म्याग्दी- प्रवासीको अगुवाइमा म्याग्दीका आठ विद्यालयमा आधुनिक प्रविधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो ।

तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभूत विद्यालय बरञ्जा, महेन्द्ररत्न आधारभूत विद्यालय बरञ्जा, हिमाञ्चल मावि नागी, विष्णु राष्ट्रिय आधारभूत विद्यालय किमचौर, बेनी सामुदायिक मावि र सरस्वती मावि सिंगामा विद्युतीय पुस्तकालय जडान गरिएको मोनाले जनाएको छ ।

यसअघि पहिलो चरणमा दश र दोस्रो चरणमा १५ विद्यालयमा विद्युतीय पुस्तकालय जडान गरिएको मोनाका अध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार रोजगारी, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा विदेशिएका म्याग्देलीले सामाजिक सञ्जाल ‘फेसबुक’बाट अभियान चलाएर विद्युतीय पुस्तकालय स्थापनाका लागि आर्थिक स्रोत जुटाइएको हो ।

ग्रामीण क्षेत्रमा आधुनिक सूचना प्रविधिको पहुँच र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले गत वर्षदेखि नेपाल लाइब्रेरी फाउण्डेशन र गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गरेर विद्युतीय पुस्तकालय अभियान सञ्चालन गरिएको थियो ।

मोनाले म्याग्दीका सबै २३२ वटा सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेको छ । एउटा विद्युतीय पुस्तकालयको सफ्टवयर जडान गर्न रु ७५ हजारको हाराहारीमा बजेट खर्च हुने गरेको छ । इन्टरनेटको प्रयोगबिनै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रव्य सामग्री सुन्न सकिने सुविधा रहेको छ ।

विद्युतीय पुस्तकालयमा इन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरणलगायत विषयसँग सम्बन्धित सन्देशमूलक श्रव्य, दृष्य सामग्री हेर्न र सुन्ने सुविधा छ ।

पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न विधाका पुस्तक रहेको सफ्टवेयर जडान गरिएको छ । पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालय तथा संस्थाले कम्प्युटरलगायत पूर्वाधार, मोनाले सफ्टवयर खरिदमा आर्थिक सहयोग र फाउण्डेशनले प्राविधिक सहयोग गरेका छन् ।
-रासस