१२ बैशाख २०८१, बुधबार
Follow Us

आफूले आफैलाई गोली हान्न लगाएको आरोपमा ‘धर्मगुरु’ श्रीनिवासाचार्य पक्राउ

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७५, सोमबार १३:२२

मोरङ । हिन्दू धर्मका कट्टर प्रचारक पण्डित श्रीनिवासाचार्यलाई आफैले आफैलाई गोली हान्न लगाएको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ । गत चैत्र २५ गते विहान करिब २ बजे विराटनगर महानगरपालिका वडा नं. १४ जतुवाको रामजानकी मन्दिर नजिक श्रीमद भागवत सप्ताह पुराणका लागि वाचन गर्न गएको बेला उनलाई गोली प्रहार गरिएको थियो ।

पण्डित श्रीनिवासाचार्य संगै उनलाई गोली हान्ने उनका अंगरक्षक भरतपुर महानगरपालिका वडा नं. ४ का माधव चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट नगरपालिका वडा नं. ५ का लक्ष्मीराज अधिकारीलाई पक्राउ गरिएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो । पक्राउ परेका माधव चौधरीले पत्रकार सम्मेलनमा धर्म र देशका लागि हातमा गोली हान्न लगाएकोले गोली हानेको बताएका छन् ।

गोली हानिएपछि पण्डित श्रीनिवासाचार्यको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो । पण्डित श्रीनिवासाचार्यमाथि गोली प्रहार भएपछि सरकारले समेत प्रमुख प्राथमिकता दिएर अनुसन्धान गर्न निर्देशन दिएको थियो । सो घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालयको विशेष प्रहरी अनुसन्धान टोली, प्रदेश प्रहरी कार्यालयको आरआईटी र जिल्लाको अनुसंधान टोलीलाई करिब २५ दिन लागेको थियो ।