१२ बैशाख २०८१, बुधबार
Follow Us

पाँच लाख बढी कित्ता शेयर बिक्री हुँदै

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७५, सोमबार १४:४८

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले रु पाँच लाख ४० हजार कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । रु एक सय मूल्य अंकित दरको रु पाँच करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि एनआइबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको सो संस्थाले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाको अधिकृत पूँजी रु ३० करोड, जारी पूँजी रु १८ करोड र चुक्तापूँजी रु १२ करोड ६० लाख रहेको छ । शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआइबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्थाले छोटो अवधिमै रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र ३४ वटा शाखा कार्यालय स्थापना गरेको छ । ती कार्यालयबाट २२ हजार ९०८ विपन्न महिलालाई समूहमा आबद्घ गरी रु १७ करोड ६४ लाख ५२ हजार बचत संकलन गरेको छ ।

यस्तै रु ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह गरेको सो संस्थाले गत आर्थिक वर्षमा रु ५७ लाख खूद मुनाफा आर्जन गरेको थियो । संस्थाले चालुु आवको तेस्रो त्रैमासिकसम्ममा रु ६५ लाख ४२ हजार खुद मुुनाफा हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

आठ अंकले घट्यो बजार
शेयर बजार आज आठ दशमलव २७ अंकले ओरालो लागेर एक हजार ३४५ दशमलव ३७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ‘क’ वर्गका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३३ बिन्दुले ओरालो लागेर २८४ दशमलव शुन्य पाँच प्रतिशत बिन्दुमा पुगेको छ ।

आज १५९ कम्पनीको ११ लाख दुई हजार ५४८ शेयर रु ४३ करोड ४२ लाख ४६ हजार ९१३ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार बैंकिङ पाँच दशमलव एक, होटल ३९ दशमलव ९६, विकास बैंक १४ दशमलव ४६, जलविद्युत् छ दशमलव ३७, फाइनान्स चार दशमलव १२, बीमा ८१ द्यशमलव ७१, उत्पादन १० दशमलव ९४ र माइक्रोफाइनान्स २१ दशमलव ९ बिन्दुले ओरालो लाग्दा अन्य उपसमूहको शेयर भने शुन्य दशमलव ३४ बिन्दुले बढेको छ ।