१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यस्तो छ भारतीय प्रम मोदीको नेपाल भ्रमण तालिका

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७५, मंगलवार ०४:४९

काठमाडौं– हिजो सोमबार जनकपुर पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मोदीको जनकपुर भ्रमणमा स्वागत, जानकी मन्दिर दर्शन, द्विपक्षीय विकासका एजेण्डा, नागरिक अभिनन्दन लगायत सम्बन्धमा औपचारिक जानकारी गराउनुभएको छ ।
जनकपुरमा प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री, भारतीय राजदूत, नेपाल प्रहरीका आईजीपी, जनकपुर उपमहानगरपालिकाका मेयरसँगको छलफलपछि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गर्नुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञावालीका अनुसार वैशाख २८ गते बिहान ९ बजे भारतीय वायु सेनाको हेलिकप्टरबाट जनकपुरको विमानस्थलमा अवतरण गर्ने भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्रीले स्वागत गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री मोदी पूजाका लागि जानकी मन्दिर आउने कार्यक्रम रहेको छ ।

मोदीलाई जानकी मन्दिरमै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ । पूजा आराधनापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गर्नुहुने छ । रामायण सर्किटसँगै जनकपुर अयोध्या बस सेवालाई हरियो झण्डा देखाएर सञ्चालन गरिने छ ।

जानकी मन्दिरपछि बाह्रबिघा मैदानमा भारतीय प्रधानमन्त्री मोदीले प्रदेश र जनकपुर उपमहानगरपालिकाबाट नागरिक अभिन्दन ग्रहण गर्ने कार्यक्रम छ । बाह्रबिघाबाट काठमाडौंका लागि प्रस्थान गर्ने भारतीय प्रधानमन्त्री सम्मिलित प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच औपचारिक रुपमा द्विपक्षीय बार्तामा सहभागी हुनेछन् ।

काठमाडौंमै बार्तापछि सहमतिमा हस्ताक्षर भएर प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलन गर्नेुहुने छ । राष्ट्रपति, उप–राष्ट्रपतिसँग औपचारिक भेटबार्ता सकेर मोदी भोलिपल्ट मुक्तिनाथ दर्शन गरी फर्केर काठमाडौंबाट स्वदेशका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले जनकपुर क्षेत्रको सांस्कृतिक पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । रामायण सर्किट, जनकपुर अयोध्या बस सेवा अतिरिक्त जनकपुरकै विकासमा केन्द्रित रही नागरिक अभिनन्दनपछि भारतीय प्रधानमन्त्रीले सम्बोधनको क्रममा विशेष प्याकेज घोषणा गर्ने आंकलन गरिएको छ ।