१३ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७५, मंगलवार १०:३०

पोखरा । जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आउनुभएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई रु छ लाख सहयोग गर्नुभएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका सूर्य गुरुङले माछापुच्छ गाउँपालिका भिडाबारीमा सञ्चालित बराह माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सो रकम उपलब्ध गराउनुभएको हो ।

विद्यालयमा आज आयोजित एक कार्यक्रमा दाता सूर्य गुरुङकी आमा कुमारी गुरुङ, बहिनी लक्ष्मी गुरुङ, दाजु तेजबहादुर गुरुङ र भाउजू बेनीकुमारी गुरुङले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सिटिइभिटीबाट स्वीकृत प्राप्त कृषितर्फको सम्पूर्ण अध्ययन अध्यापन भइरहेको सो विद्यालयमा शिशु तहदेखि कक्षा १२ सम्म हाल ३७० विद्यार्थी अध्ययरत रहेको प्रअ गुरुङले जानकारी दिनुभयो ।

यसअघि उहाँले गोरखा जिल्लामा भूकम्पबाट क्षति पुगेको जनजागृति मावि, कास्की धलेलस्थित बमबहादुर घले आधारभूत विद्यालय, पोखरा १६ स्थित अर्मलाको अन्नपूर्ण माध्यमिक विद्यालय निर्माण र पुस्तकालय स्तरोन्नतिका साथै पोखरा रंगशालाको पर्खाल निर्माणका लागिसमेत बेलायतबाट रु ५० लाख संकलन गरेर सहयोग उपलब्ध गराउनुभएको थियो ।