१३ बैशाख २०८१, बिहीबार
Follow Us

परिवर्तनमा महिलाको भूमिका कम आँक्न मिल्दैन

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७५, मंगलवार १३:५४

कैलाश राई, स्वतन्त्र अध्येता
अध्ययन र अनुसन्धानमा रुचि राख्ने कैलाश राई पछिल्लो समय हस्तक्षेपकारी महिलाहरूको अन्तर्वार्ता समेटिएको पुस्तक सार्वजनिक गर्ने तर्खरमा छिन् । समाज परिवर्तनका लागि हरेक क्षेत्रबाट योगदान दिने महिलाहरूले ज्ञान उत्पादन गर्दा भोग्नुपरेका कठिनाइलाई पुस्तकले समेटेको राई बताउँछिन् । यसअघि उनले तीनवटा अनुसन्धानमूलक कृति निकालिसकेकी छन् । उनको पछिल्लो अनुसन्धानात्मक कृति तथा भोजपुरबाट काठमाडौं आएपछि गरेको संघर्षबारे राईसँग कुमार राउतले गरेको कुराकानी :

० पछिल्लो समय के खोजी गर्दै हुनुहुन्छ ?
– नेपालमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेका महिलाको अन्तर्वार्तासम्बन्धी पुस्तक तयार हुँदैछ ।

० हस्तक्षेपकारी भूमिका भनेको के हो ?
– भएका नीति निर्माण बदल्न विभिन्न क्षेत्रबाट समाजको हरेक क्षेत्रबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने महिलाहरू भन्ने खोजिएको हो । जस्तो, कानुनी क्षेत्रबाट मीरा ढुंगाना, मधेसी र मुस्लिम क्षेत्रकी मोहना अन्सारीलगायतका हुनुहुन्छ ।

० यस्ता पुस्तक बाहिर ल्याउनुको उद्देश्य ?
– सामाजिक परिवर्तन गर्न उनीहरूले समाजमा खेलेको भूमिका बाहिर आओस् भन्ने हो । उनीहरूको योगदानको कदर होस् । परिवर्तनका संवाहकको दस्तावेजीकरण होस् भन्ने उद्देश्य हो ।

० यसले नेपाली समाजमा के असर छाड्छ ?
– त्यसरी नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्ति बिर्सन हुँदैन । समाज परिवर्तनमा महिलाले गरेको संघर्ष, त्याग र सामना गरेको चुनौतीलाई गहन रूपमा लिनुपर्छ । नेपाली महिलाको अनुभव, दृष्टिकोण र संघर्षपछि ज्ञान उत्पादन भएको हो । त्यसैले यसलाई हल्का रूपमा लिनु हुँदैन ।

० यसभन्दा अघि पनि पुस्तकहरू सार्वजनिक भएका छन् ?
– यसभन्दा अघि मेरा तीनवटा पुस्तक सार्वजनिक भएका छन् । दुईवटा संविधानसभासम्बन्धी पुस्तक र पछिल्लो प्राज्ञिक क्षेत्रमा पहिचानको खोजी नामको पुस्तक रहेका छन् । यो पुस्तक आदिवासी जनजाति महिलामा केन्द्रित छ ।

० जनजाति महिलामा लक्षित रहेछ पुस्तक ?
– हो, ज्ञान निर्माणमा सहभागी हुने जमातलाई हेरेर पुस्तक निकालिएको हो । विविधता, पहिचान र सामूहिकतालाई संगठित रूपमा जानकारी दिने उद्देश्य पुस्तकको हो । विचार निर्माणका लागि पुस्तक ल्याइएको हो ।

० कस्तो प्रतिक्रिया पाउनुभयो ।
– सकारात्मक छन् । सीमान्तकृत गरिएकालाई मूलधारमा ल्याउने काम भएको छ । नीति निर्माणमा पहुँच नभएका समुदायको सवाल अझै पनि बाहिर आएको छैन । उनीहरूलाई सञ्चारमाध्यमको पहुँचमा राख्न आवश्यक थियो । त्यो आवश्यक केही हदसम्म यो पुस्तकले पूरा गरेको छ भन्ने प्रतिक्रिया पाएँ ।

० यो अनुसन्धानको क्षेत्र किन रोज्नुभयो ?
– यसको स्पष्ट जवाफ मसँग छैन । स्वभावतः राजनीतिमा चासो राख्ने, लेखपढ र अध्ययन अनुसन्धानमा चासो राख्छु । मेरो स्वभावसँग मिल्ने भएकाले म यही क्षेत्रमा रमाउन थालें ।

० अञ्जानमा होमिनु भएको हो ?
– होइन, मैले यो क्षेत्र रोजे भने विचार निर्माण गर्न सक्छु, विचार र अभिव्यक्तिको सदुपयोग हुन्छ । त्यति मात्र होइन, समाजमा भएको विचारलाई पुनर्निर्माणमा सहयोग पुग्छ भनेर म यो क्षेत्रमा आएकी हुँ ।

० कसले पे्ररणा दियो ?
– त्यस्ता अग्रज त कोही छैनन्, यद्यपि ज्ञान निर्माणका लागि मार्टिन चौतारीबाट बाटो पाएँ । त्यसका लागि सहकर्मीसँगको वातावरणलाई मैले बिर्सनु हुँदैन ।

० अध्ययन अनुसन्धान जनजातिमा केन्द्रित गर्नुभयो ?
– हो, अहिले त्यस्तो देखिन्छ । मार्टिन चौतारीमा काम गर्न थालेपछि यो क्षेत्रमा खोज अनुसन्धान गर्न प्रभावित भएँ । त्यहाँबाट प्राप्त भएको ज्ञान वा विचारले नीति निर्माणमा प्रभाव पार्छ भन्ने लाग्छ ।

० कहाँको रैथाने ?
– भोजपुरकी हुँ, भोजपुरको दक्षिणपूर्वी विकेट ठाउँबाट काठमाडौंमा संघर्ष गरिरहेकी छु । अध्ययन गर्न काठमाडौं आएकी हुँ ।

० किन भोजपुरमा कलेज थिएन ?
– भोजपुर सदरमुकाम पुग्नुभन्दा धनकुटा वा धरान जान सजिलो र छिटो हुन्छ । त्यसैले धरान, धनकुटामा पनि डेरा गरेर बस्नुपथ्र्यो । काठमाडौंमा आफन्त भएकाले पढ्न यतै सजिलो होला भन्ठानियो ।

० अरु दाजुभाइ दिदीबहिनी ?
– मेरी आमापट्टिको म एक्लो सन्तान हुँ । दिदी हुनुहुन्थ्यो, तर अहिले उहाँ हुनुहुन्न । बुवा खेती किसानी गर्नुहुन्थ्यो ।

० पढ्न घरबाटै सहयोग भयो ?
– बुबाले दोस्रो विवाह गरेपछि परिवारलाई म बोझ भएजस्तो भयो । अभिभावकले भरसक विवाह गरेर पठाउन पाए हुन्थ्यो जस्तो गर्न थाल्नुभयो । आफ्नो वृत्तिविकास आफैं गर्नुपर्छ भन्ने लाग्यो । आईएदेखि मास्टर्ससम्मको पढाइका लागि आफैंले खर्च जोहो गरें । खर्च जोहो गर्न बुन्नेतुन्ने कामसमेत गरियो ।

० संघर्ष गरेरै अध्ययन गर्नुभएछ ?
– परिवारमा पढ्नका लागि विद्रोह नै गर्नुप¥यो, जसले गर्दा मानसिक तनाव झेल्नु परेको थियो । आत्मनिर्भर बन्नुपर्छ भन्ने भयो । ६ कक्षामा पढ्दा नै आमा बित्नुभयो । छोरा र छोरीमा फरक छ भन्ने कुरा यो समाजले सिकायो । त्यसपछि मेरो दिमागमा स्ट्रयाक ग¥यो ।

० जनजातिमा लाहुरे संस्कृति हुँदैन र ?
– काका वा फुपूहरू सम्पन्न नै हुनुहुन्थ्यो । तर आफूलाई स्वाभिमानी ठानें । घरबाट खर्चपात आउँछ होला भनेर उहाँहरूले पनि सोध्नुभएन । तर आफ्नो पीडा आफैसँग थियो ।

० अर्को आमाको सन्तान होलान् नि ?
– भाइ र बहिनी छन्, वंशको हिसाबले होला, तर परिवारको हिसाबले छैन ।

० विवाह गर्नुभयो ?
– गरें, मन मिल्ने साथीसँग विवाह गरें । हाम्रो एउटा छोरा छ, श्रीमान् रोजगारीका लागि कोरियामा हुनुहुन्छ ।

० कहाँ भेट्नुभयो ?
– ट्युसन पढाउने एउटा घरमा पहिलो पटक देखभेट भएको हो । मेरो फुपू र उसको दिदी साथी भएकाले आउजाउ भइराख्थ्यो । चिनजान भाको तीन–चार वर्षपछि हामीले विवाह गरेका हौं ।

० पे्रम विवाह हो ?
– पे्रम भनेर त्यस्तो लैलामजनुको जस्तो होइन । सामान्य चिनजान भयो, तीन–चार वर्षसम्म बोलचाल मात्र भयो । मैले उसलाई कहिले पे्रमीको नजरले हेरेकी थिइनँ । पछि हाम्रो स्वार्थ मिल्दै गयो, विवाह ग¥यौं ।