१३ बैशाख २०८१, बिहीबार
Follow Us

विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा

sarusaru
२६ बैशाख २०७५, बुधबार ०७:४९

बेनी, म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँको खानीगाउँमा रहेको अचम्मको मूर्तिसहितको गुफा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

गुफामा विभिन्न आकृतिका मूर्ति भेटिए पनि संरक्षण र पूर्वाधारका लागि बजेट अभावले गुफा ओझेलमा परेको हो । गुफामा विभिन्न जनावरका आकृति, पक्षी, हातहतियार, हिमशृंखला, देवीदेवताको आकृति रहेका छन् ।

पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको स्थानीय याम बुढाथोकीले बताउनुभयो । “यहाँको प्रचारप्रसार भौतिक पूर्वाधार निर्माणमा बजेटको आवश्यकता छ । स्थानीयको प्रयासले मात्रै सम्भव छैन” रोकाले भन्नुभयो ।

स्थानीयले गुफाको संरक्षणका लागि विभिन्न क्षेत्रमा पहल गरिरहेका छन् । जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले गुफा ओझेलमा परेको उनीहरुको भनाइ छ । घाँसदाउरा खोज्न जाने क्रममा भेटिएको मूर्तिको छदेखि सात सेन्टिमिटर माथि मूर्तिको शिरमा तीन÷चार सेकेण्डको फरकमा पानीको थोपा झर्ने गरेको स्थानीय उदय रोकाले बताउनुभयो ।

आसपासका क्षेत्रमा अझै धेरै मूर्ति र ठूलो गुफा भएको अनुमान स्थानीयले गरेका छन् । गुफामा विभिन्न किसिमका मूर्ति भेटिएपछि मंगला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष क्याप्टेन डेकबहादुर राम्जालीले संरक्षण गर्दै धार्मिक क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कुहुँका विभिन्न स्थानमा गुफा तथा ओढार रहेका छन् । कुहुँकै टोड्केमा स्वर्गद्धारीको शाखा आश्रमसमेत रहेको छ । गाउँपालिकाले गाउँमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासमा समेत बजेटलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

कुहुँ धार्मिकस्थल भएकाले पनि स्वर्गद्वारीको आश्रम आसपासका क्षेत्रमा अझै पनि पुराना मूर्ति र संरचना रहेको हुनसक्ने अनुमान गरिएको छ
रासस