February 27, 2021
3:25 PM | 9:10 PM
विचार विश्लेषण

ईश्वरका साक्षात् प्रतिमूर्ति हुन् बाबु–आमा

  01/09/2016 मा प्रकाशित

वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो÷यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सहि सूचनाबाट बन्चित गराउनेसम्मको व्यवहार हुने गेरको पाइन्छ । मातृपितृसेवा गर्न झर्कोमान्ने मानसिकता नयाँ पुस्तामा बढ्दो छ । हुनलाई यस्ता सवालहरूमा ज्येष्ठनागरिक अधिकारको विषय उठाएर काम गर्ने निकायहरू पनि छन् । तथापि आधुनिकताको नाममा शिक्षामा व्यवहारिकरण नहुनाले तथा माटो अनुसारको नभएर पराश्रित मानसिकतामा आधारित पराईको तर्जुमाको शिक्षा नीतिको सञ्चालन हुँदा यस्ता समस्याहरू निराकरण भन्दापनि उत्पादन बढी हुनेक्रम जारी छ । व्यवहारिक शिक्षा र पराविद्या पलाएन हुने र अपरा तथा आयातित अव्यवहारिक विद्यार्जनमा जोड गराइने हुँदा यी समस्या दिनानुदिन बढ्दै गएका छन् ।
भलै बाबु–आमाको लौकिक शिक्षा होस वा नहोस अथवा बाबु–आमा सांसारिक एवम् भौतिक रूपमा कुनै पनि अवस्थामा किन नहुन् यदि सन्ततीले आफ्ना बुबा–आमालाई ईश्वरको रूपमा श्रद्धा, आदर–सम्मान र सेवा गर्यो÷गर्छ भने बुबा–आमाको माध्यमबाट उसले ईश्वर साक्षातकार गर्नसक्छ । यसर्थमा बुबा–आमालाई ईश्वरका प्रतिमूर्ति मानिन्छ र सोही अनुरूप उहाँहरूप्रति व्यवहार गर्नुपर्छ । हाम्रा सनातन शास्त्रले पनि ‘मातृदेवो भवः पितृदेवोभवः’ भनेर हामीलाई मार्गदर्शन गरेका छन् । मातृदेवो भवः पितृदेवो भवः को धर्म, दर्शन, संस्कार, संस्कृति, परम्परा र सभ्यता बोकेको यो सनातन भूमिको मौलिकता नै हो । यो सभ्यताको आज विश्वले नै अनुकरण गरिरहेको छ । विश्वको माथ सगरमाथा रहेको यो सनातनभूमि, धर्मभूमि, योगभूमि, तपोभूमि, ज्ञानभूमि, देवभूमि, बुद्धभूमि, गुरुभूमि तीर्थमयी नेपाललाई ‘मातृदेवो भवः पितृदेवो भवः’को यो संस्कृतिको महत्त्वको सन्देशलाई विश्वभरी प्रवाहित गर्ने जिम्मेवारी रहेको छ ।
जसले आमा–बुवाप्रतिको कर्तव्यबोध गर्न सक्तैन उसको जीवन पशुसमान हो । कुनै पनि व्यक्ति, पुस्ता वा पीँढी मातापिताको आर्शिवादबाट बञ्चित हुनपुग्यो भने त्यसले आफ्नो अस्तित्त्व बचाउन सक्तैन, फलस्वरूप किंकर्तव्यविमूढ हुन पुग्दछ । मनोवैज्ञानिक विश्लेषणमा पनि कति यस्ता निस्कर्षहरू निस्किन्छन् कि बाबु–आमाप्रतिको दायित्त्वबाट च्युत हुनपुगेको सन्तानमा पछि गएर विभिन्न खालका मानसिक एवम् सामाजिक र व्यवहारिक तथा भौतिकसमेतका समस्याग्रस्त अवस्था सृजना भइरहेका छन् । पश्चिमी जगतका विद्वानहरूले पनि पूर्वीय वाङ्मयमा रहेको यो मातृ–पितृभक्ति तथा आदर–सम्मानको धर्म–दर्शन र संस्कृति व्यवहारिक, वैज्ञानिक, सामाजिक र मानवीयतापरक रहेको कुरालाई स्वीकार्दछन् ।
भौतिक व्यस्तताको नाममा आज विश्वका करोडौं बाबु–आमाहरू सन्ततीसुःखको न्यानो घामबाट बन्चित हुनेक्रम बढेर गएको छ, जुन मानवसभ्यताको लागि ठूलो चिन्ताको विषय बनेको छ । सन्तान भएर पनि आमा–बुबाहरू अपुततुल्य भइ बृद्धाश्रमको शरण लिनपर्ने बाध्यता सृजना हुँदैगएको छ, जुन कुरा हाम्रो धर्म तथा संस्कृतिपरक छैन । एकातिर मातृपितृको जिम्मेवारीबाट विमुख हुँदै गएको वर्तमान पुस्ताले गम्भीरताको साथमा सोँच्नपर्ने स्थिति आएको छ भने अर्कोतर्फ आधुनिकता तथा भौतिक विकासको नाममा आफ्नो धर्म, दर्शन, संस्कृति, परम्परा, संस्कार र सभ्यतामा खलल आउन नदिइकन तथा विपरित हुननदिइकन आफ्नो समाज तथा जीवन पद्धतिलाई कसरी समयानुकूल गराउने र कसरी विकासगतिलाई अवलम्बन गर्ने भन्ने विषयमा चिन्तनमनन् गरी उपयुक्त मार्ग तय गर्न अपरिहार्य देखिएको छ । सृष्टिको पनि आदिशक्ति माता भगवती र परमपिता हुनुहुन्छ, तीनै शाश्वत सनातन आदि माता पिताका प्रतिकका रूपमा हामीले आफ्ना यस जन्मका बाबुआमालाई साक्षात ईश्वरका रूपमा सेवा, सत्कार, आदर–सम्मान गर्नपर्ने कारणबाट मनसा वाचा कर्मणा च्युत हुनुहुन्न । यदि च्युत भईयो भने त्याहाँ भन्दा धिक्कार हुनपर्ने अर्को स्थान र अवस्था रहँदैन ।
कुनै पनि समयमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको समस्या, कठिनाई, दुःख चाहे त्यो आदिदैविक वा आदिभौतिक वा आध्यात्मिक कुनै किन नहोस पर्यो र निस्पट्ट भयो, कतैबाट पनि सो समस्याबाट मुक्तिमिल्ने कुनै उपाय भेटिएन–देखिएन, निकै नै आकुलव्याकुलता छायो, होसहवास उड्ने अवस्था भयो भने पनि यदि यस्तो समस्यामा पर्ने व्यक्तिले जीवनमा मातृ–पितृप्रतिको दायित्तवमा कर्तव्यबाट चुकेको छैन, प्राकृतिक रूपमा (विना चाप्लुसी) आमा–बुवाको सेवा, सत्कार, श्रद्धा र सद्भाव गरेको छ÷थियो भने सो सत्पुत्र÷पुत्रीलाई प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा मातृपितृ आर्शिवाद मिल्दछ र कष्ट निवृति हुन्छ । जस्तै नाजुक अवस्थामा भए पनि आवश्यक स्रोत जुट्नै कर लाग्छ । कुनै रोगले ग्रस्त पार्दा पनि रोगमुक्ति हुन्छ, अकाल मृत्यु टर्छ, कथमकदाचित असाध्य रोगबाट ग्रसित भइ देहत्याग गर्नुनै पर्ने भएमा पनि मोक्षगति प्राप्त हुन्छ । यस प्रकारको शक्ति आमाबाबुको सेवा, भक्तिमा रहेको हुन्छ ।
पितासम्मान दिवस मूलतः मूलको सम्झनाको दिवस हो । उपर्युक्त चर्चाबाट पनि मातापिता देवतुल्यताको भावना आइसक्यो । यद्यपि कसैले पनि वर्षमा मात्र एक दिन आमा बाबुको सम्झना गर्ने र अरु दिन वास्ता नगर्ने भन्ने कदापि होइन । एउटा सन्देशात्मक विशेषतालाई महत्त्व दिएको हो यो बाबुको मुख हेर्ने त्यस्तै आमाको मुख हेर्ने दिनले । यो सांस्कृतिक विशेषता विस्तारै नेपालको गौरव बनेर विश्वभरी फैलिँदै गएको यथार्थलाई विश्वले स्वीकार गरेको छ । शुरुमा नेपालमा पनि नेवार समुदायमा रहेको यो संस्कृति विस्तारै सबै समुदाय हुँदै विश्वमा पुग्नु राम्रो संस्कृतिलाई सबैले स्वीकार गर्छन् भन्ने सकारात्मक तथ्यको प्रमाणित सन्देश हो ।
सृष्टिको स्रोत अखण्ड सत्ताको जुन धारा छ सो यो खण्डमय संसारमा पनि अविछिन्नरूपमा लागू भएको छ । त्यही धाराको आस्वादन र अनुभूति हामीले मातापिताबाट पाउनसक्छौ । भन्नाको तात्पर्य जसरी अखण्ड महात्माबाट सृष्टिको प्रक्रिया शुरु भयो त्यही प्रक्रिया तथा पद्धति यो अहिलेको खण्डमय संसारमा बाबुआमा, आफू हुँदै भावी सन्तती तर्फ उन्मुख हुन्छ, सिद्धान्त र पद्धति एउटै हो । आफ्ना बाबुआमामा ईश्वरी अंश देख्न र अनुभूति गर्नसक्ने सन्ततीले साक्षात् परब्रह्मपरमात्मासम्म पुग्ने मूलको धारोको मार्ग समात्नसक्छ र सो मार्गमार्फत अघि बढेमा साधनाको पुरुषार्थले आफ्नो जीवन कृतार्थ गराउनसक्छ भन्ने तात्त्विक मर्म जोडिएको छ यो पितासम्मान दिवससँग ।
समष्टिमा आमा–बाबुप्रति सन्तानबाट सधैं हुनपर्ने सेवा, सत्कार, सद्भाव, आदर–सम्मानको कर्तव्यबोध मातृ र पितृ दर्शन आमावश्याले दिँदै आएको छ । यी दिनमा गरिने मातृश्रद्धा तथा पितृश्रद्धाको भाव सदासर्वदा अक्षुण राख्नसक्नु सत्पुत्रपुत्रीहरूको दायित्त्व हो । सबै आमा–बुबाहरूमा आजको यस पावन पितृदर्शन आमावश्याको दिनको शुभअवसरमा सादर दण्डवत् । अस्तु ।।।

deepaksubedichintak@yahoo.com

प्रतिक्रिया