१२ बैशाख २०८१, बुधबार
Follow Us

नेविसंघमा चरम विवाद : मुठभेड हुने भएपछि कार्यक्रम स्थगित

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७५, बुधबार ११:२१

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको चरम विवाद नेपाल विद्यार्थी संघमा पनि सरेको छ । गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठन नेविसंघमा लागेको हो । नेविसंघभित्रको यही आन्तरिक विवादकै कारण बुधबार आयोजना गरिएको कार्यक्रम हुनै सकेन । बीपी कोइराला संग्रहालय सुन्दरीजलमा नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रममा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएपनि नेविसंघको संस्थापन र अर्को पक्षको विवादका कारण तय गरिएको कार्यक्रम त्यत्तिकै स्थगित गर्नुपर्‍यो ।

संस्थापनइतर महासचिव कुन्दनराज काफ्ले समूहले पनि सुन्दरीजलमा समानान्तर कार्यक्रम राखेपछि दुई गुटबीच विवाद बढ्दा कार्यक्रम नै रोक्नुपरेको हो । संस्थापन पक्षका अध्यक्ष नैनसिंह महर र महासचिव काफ्लेले एकै स्थानमा छुट्टाछुट्टै मञ्च बनाएर कार्यक्रम गर्ने तय गरेपछि विवाद उत्कर्षमा पुगेको हो । कार्यक्रमस्थलमा झडप हुने सम्भावना बढेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

प्रशिक्षणका लागि विभिन्न जिल्लाबाट आएका विद्यार्थीको भीड बढे पनि नेता भने उपस्थित भएनन् । विवाद मिलाउन कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा दुवै समूहका विद्यार्थीलाई बोलाएर छलफल गरे पनि कार्यक्रम कहिले गर्ने तय हुन सकेको छैन । संस्थापनइतर समूहले अध्यक्ष नैनसिंह महरले विधान मिचेर एकलौटी अघि बढेको आरोप लगाएको छ । यता, बीपी संग्रहालयले भने संग्रहालयभित्र दुवै कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।