७ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. देवकोटालाई भेट्न जानेहरु भक्कानिदै फर्किन्छन

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७५, बुधबार १५:४९

काठमाडौं । आफैं जीवन–मरणको संघर्षमा रहेका न्यूरोरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटालाई भेट्न चाहनेहरुको अस्पतालमा भीड लाग्ने गरेको छ । उपचारकाक्रममा हजारौंसँग जोडिएका डा. देवकोटालाई भेट्न आउनेहरु अधिकांश उनको विशेषज्ञ क्षमताबाट नयाँ जीवन पाएकाहरु छन् ।

कालिकोटकी ४४ वर्षीया मालती शाहीको टाउकोको ट्युमरको शल्यक्रिया डा. उपेन्द्र देवकोटाले ८ पटकसम्म गरेका थिए । सन् २००२ मा ४५ दिनकी छोरी छाडेर मालती उपचारका लागि डा. देवकोटाकहाँ पुगिन् । उनलाई बाँच्ने आशा पलायो र डा. देवकोटाको उपचारबाट उनको रोग निको पनि भयो ।

तर, आज तिनै डाक्टरलाई जीवन–मरणको दोसाँधमा देख्दा मालतीले आफूलाई सम्हाल्न सकिनन् । मालतीका श्रीमान् नन्दबहादुर सिंह पनि डा. देवकोटालाई भेटेर आएपछि निकै भक्कानिए । आफ्नी श्रीमतीलाई बचाउने डा. देवकोटा आफैं यस्तो अवस्थामा हुँदा नन्दबहादरले डा. देवकोटाको स्वास्थ्यलाभको कामनासमेत गरे ।

डा. देवकोटाबाट उपचार गराएर निको भएका बिरामीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि बुधबार डा. देवकोटालाई भेट्न अस्पताल पुगेका थिए । उनले पनि डा. देवकोटाको स्वास्थ्यलाभको कामना गरे । ३७ वर्ष लामो समय चिकित्सा पेसामा बिताइसकेका डा. देवकोटाले हालसम्म ३४ हजार व्यक्तिको शल्यक्रिया गरिसकेका छन् भने ७ लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेका छन् ।

स्वास्थ्यमा असहजता भएपछि डा. देवकोटा २०७४ साल मंसिर ५ गते उपचार गराउन बेलायत गएका थिए । बेलायतको किंग्स कलेज हस्पिटलमा ६ महिना उपचार गरेर नेपाल फर्किए । गत माघ ११ गतेदेखि किमोथेरापी दिन सुरु गरिएका देवकाटालाई तीनपटकसम्म किमो चढाइएको जनाइएको छ । तर, स्वास्थ्यमा अपेक्षाअनुसारको सुधार हुन नसकेपछि उनी नेपाल फर्केर न्यूरो अस्पतालमै उपचाररत् छन् ।