रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले शुक्रबार र शनिबार नेपालको भ्रमण गर्नु हुनेछ । प्रधानमन्त्री मोदी तेस्रो पटक भोलि शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । प्रम मोदीको यस पटकको भ्रमण बढी धार्मिक देखिएको छ, यो भ्रमणबारे भारतमै पनि विभिन्न चर्चा परिचर्चा चल्न थालिसकेको छ । कर्नाटकमा विधानसभा निर्वाचनको मौन अवधिका बेला नेपालबाट प्रचार गर्न लागेको भन्ने चर्चासम्म बाहिर आइसकेको छ । यसै विषयमा कूटनीतिज्ञ रमेशनाथ पाण्डेसँग सहकर्मी मित्र सञ्जीव अधिकारीले गरेको कुराकानी–

० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । नेपालले केही अपेक्षा गर्ने विषय छन् ?
– हरेक भ्रमणमा भौतिक सहयोगको अपेक्षा गर्ने बानी नेपालले राख्नु हुँदैन । नेपालले आफ्नो परिपक्वता देखाउन थाल्नुप¥यो । नेपाल सँधैं माग्ने प्रवृत्ति देखाएर देश दुर्गतिमा पुगिसक्यो, अझ हामी आत्मसम्मानलाई बचाएर हिड्न सक्दैनौं र ?

० केही दिन्छन् भनेर हामी सधैं अपेक्षा गरेर बसेका हुन्थ्यौं ?
– मानिसमा परिपक्वता बढ्दै जान्छ, राष्ट्र पनि परिपक्व हुँदै जान्छ । राष्ट्रको संस्थागत स्मरणशक्ति बलियो हुँदै जान्छ । हामीकहाँ उल्टो चलन छ, हामीमा परिपक्वता घट्दै गएको छ । बाहिरबाट कुनै विदेशी आउँदा हामी जहिले पनि माग्ने मानसिकता लिएर किन हिड्छौं । हामीले आफ्नो हैसियत किन बढाउँदैनौं ?

०७२ सालमा भूकम्प जाँदा संसारभरिका देशले खर्बै रुपैयाँ दिन बचन दिए । हामीले ठूलठूला प्रचार ग¥यौं । आखिर आउने बेलामा त्यसको ५० प्रतिशत पनि आएन । आएको ५० प्रतिशतमा हामीले १० प्रतिशत पनि खर्च गर्न सकेनौं । हाम्रो नेतृत्व किन यति लाचार भएर गएको ? उनीहरुको ध्यान बालुवाटारमा मात्रै छ ।

भोलि हुने भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई एउटा स्वाभिमानी दृष्टिकोणले नहेरेर माग्ने, खान नपाएको, आत्मसम्मान नभएको देशको स्थानमा नेपाललाई किन पु-याएको ?

० भारतीय प्रमको नेपाल भ्रमण कस्तो खालको हो ? यसले कूटनीतिमा कस्तो प्रभाव छाड्छ ?
– यो भ्रमणलाई कूटनीतिमा लैजान मिल्दैन । यसलाई उच्चस्तरीय भ्रमणको विशेषण पनि नदिनुस् । नरेन्द्र मोदी हिन्दू धर्मको कट्टर अनुयायी हुन्, उनलाई धर्ममा विश्वास छ, भगवानहरुमा विश्वास छ । उनी जवानी अवस्थामा घर छोडेर तपस्या गर्न गएका मानिस हुन् । उनको भाकल थियो होला, पछिल्लो पटक नेपाल आउँदा पनि उनले जनकपुर र मुक्तिनाथ जाने चाहना व्यक्त गरेकै हो, हामीले बन्दोवस्त गर्न नसकेकै हो । उहाँ धार्मिक प्रयोजनका लागि नेपाल आउन लाग्नुभएको हो । उहाँलाई धर्ममा लिप्त हुन दिनुस् । सीताजी हिन्दूहरुको मात्र होइन, संसारकै हिन्दूहरुको हुन् । मुक्तिनाथलाई हामी बैकुण्ठको रुपमा स्वीकार गछौं । त्यसको दर्शन गर्न मोदीलाई दिनुस् । यो भ्रमणलाई ठूलो होहल्ला गरेर राजनीतिक रंग दिन थाल्यौं ।

राजनीतिक रंग दिने नाममा कूटनीतिक व्यवहारलाई पनि नेपालले छोडेको देख्छु म । अहिले ओली सरकारले जे व्यवहार गरिरहेको छ, त्यसले नेपालको लामो समयसम्म असर गर्छ ।

० यसको अर्थ लाग्छ ?
– नेपालको प्रधानमन्त्रीलाई भारतीय विदेशमन्त्रीले रिसिभ गरे, पछिल्लो पटक गृहमन्त्रीले रिसिभ गरे । कूटनीतिमा सार्वजनिक रुपमा गरिने व्यवहारको अर्थ र उद्देश्य रहन्छ । त्यसको अर्थ कहिले उनले नेपालको प्रधानमन्त्रीलाई अत्यन्त महत्व दिए, कहिले नेपालसँग भारतको सम्बन्ध वैदेशिक हिसाबमा सीमित छ भन्ने सन्देश दिए । पछिल्लो पटक प्रधानमन्त्री ओली भारत जाँदा गृहमन्त्री पठाएर नेपालसँगको सम्बन्ध आन्तरिक सुरक्षासँग पनि सम्बन्धित छ भन्ने सन्देश दिए ।

हामीले रक्षामन्त्रीलाई स्वागतका लागि पठाउन लागेका छौं । त्यसको कूटनीतिक अर्थ नेपालको भारतसँगको सम्बन्ध सुरक्षासँग सम्बन्धित छ भन्ने लाग्छ । यो अल्लारेपनले कूटनीति चल्दैन ।

कूटनीतिमा गरिएको व्यवहार, बोलेका कुरा, हात मिलाउँदा दिएको एउटा वा दुईवटा हातको अर्थ लाग्छ । त्यो अर्थ लाग्छ भन्ने हेक्का यो सरकारलाई भएन । कुन ताप्र्यले गरिरहेको छु भन्ने कुराको महत्व पनि भएन । परिणाम यसले नेपालको दायित्व बढ्छ ।
उदाहरणका लागि उत्तर कोरियाका राष्ट्रपति पैदल सीमाना क्रस गरेर दक्षिण कोरिया गए । त्यहाँ प्रोटोकलको माने आएन, त्यहाँ सिधैं परिणाममा गइयो । परिणाम कोरिया महाद्विपमा शान्ति स्थापना हुन थालेको सन्देश गयो ।

भारतीय प्रधानमन्त्री सियान गए, पेचिङ गएनन् । त्यही राष्ट्रपतिसँग बसे, त्यहाँ उनले बगैंचामा घुम्दा कुरा गरे, ढुंगा यात्रा गर्दा कुरा गरे, त्यसले परिणाम राम्रो आउँछ भन्ने संकेत दिइएको छ । हामीले चाहिँ यहाँ २१ तोपको सलामी दिनुपर्ने ।

नेपालमा आजसम्म संसारका धेरैजसो प्रधानमन्त्री आइसकेका छन् । यो २० वर्ष मात्र भयो आउन छाडेको । कुनै पनि नेताको सुरक्षाका लागि नेपालको प्रहरी र सेना योग्य थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतबाट सेना आउनुप¥यो । सुरक्षा दिने हाम्रो तागत खिएर गइसकेको रहेछ ?

कूटनीतिक रुपमा मात्र होइन, व्यवहारिक रुपमा पनि भारत र चीनलाई मात्र होइन, संसारलाई नै नेपालको सुरक्षा व्यवस्था अत्यान्तै नाजुक छ भन्ने सन्देश दिन्छ । त्यो सन्देशको दायित्व नेपालमा कति बढ्छ ? त्यो कुराको हेक्का राखेको छ यो सरकारले ?

० भारतीय प्रमलाई हामी जुन आतिथ्य दिइरहेका छौं, त्यो कूटनीतिक हिसाबले हामी काहिँ चुकेका छौं भन्ने संकेत हो तपाईंको ?
– मेरा कुरा भनिसकेपछि, यी सबै कुराको मबाटै व्याख्या र परिभाषा गराउन नलगाउनुस् । श्रोत र पाठकले यो परिभाषा लगाउन उनीहरुले नै बुझुन । उहाँहरुले जे बुझ्नुहुन्छ, त्यसैलाई विचार गरौं ।

० भारतीय नेताको भ्रमणलाई हामी किन धेरै महत्व दिन्छौं ?
– महत्व दिएका होइनौं, हामीमा इन्फिरिटी कम्प्लेक्स छ । हामीले राजनीतिको साँचो विदेशीलाई बुझाएका छौं । हामीमा आत्मविश्वास छैन । हाम्रा नेताहरुको खुट्टा नेपाली भूमिमा छैन । हाम्रा नेताहरुको आकांक्षा र लक्ष्य बालुवाटारमा बास पाउने मात्र हो । आफ्नो घरमा मात्र स्थायी रुपमा बस्न पाइन्छ । बास पाएको ठाउँ हप्ता, दिन र घन्टाका लागि हुन्छ, आजीवन हुँदैन । त्यो कुरा पनि उहाँहरु बुझ्नु हुन्न ।

यो सरकार बनेको तीन महिना भयो, यो तीन महिनामा प्रहरी प्रमुखको नियुक्ति, विदा कटौती, सचिवहरु परिवर्तन ग¥यो । त्योबाहेक केही गरेको छैन । यी कुरासँग आम जनताको के सरोकार ?

किन विदेशीहरु आइरहेका छैनन्, किन हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय समुदायले बोलाउँदैनन । के कमजोरी भयो, हाम्रो ? यो विषयमा कसैले मूल्यांकन गरेन । हाम्रो कूटनीतिपनमा अल्लारेपन देखियो । व्यक्तिपरक भयो, सत्तामा बसेको नेताको निहितमा भयो ।

भारतीय प्रधानमन्त्री मोदी आउनेवित्तिकै सडक सफा गर्नुपर्ने यो फोहोरी देशमा ? संसारलाई कस्तो म्यासेज दिन खोजेको हो ? दिनैपिछ सडकको धुलो उडाएर जनताको फोक्सो खराब हुँदा सरकारलाई मतलब नहुने, एकजना विदेशी नेता आउन लाग्यो भनेपछि रातभरिमा सबै कुरा ठीक पार्नुपर्ने ? सबै कुरा ठीक गर्ने क्षमता त रहेछ । क्षमता, पैसा र संयन्त्र पनि रहेछ । त्यसलाई समयमा प्रयोग गर्दिएको भए के हुन्थ्यो ?
अडियोमा सुन्नुहोस् कुराकानी