१२ बैशाख २०८१, बुधबार
Follow Us

सरकारी स्कुलमा नपढाए शिक्षकको तलब रोक्का

sarusaru
२८ बैशाख २०७५, शुक्रबार ०६:०१

बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका–७ रेशले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकको तलब रोक्का गर्ने भएको छ । वडा भित्रका विद्यालयहरुले बनाएको सामुदायिक विद्यालय सुधार योजनाको अक्षरश पालना गर्ने भन्दै वडाले अटेरी गर्ने शिक्षकको तलब रोक्का गर्ने निर्णय गरेको हो ।
शैक्षिक सत्र सुरु हुनु पुर्वनै सरकारी तलब भत्तामा काम गर्ने सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने बताउँदै आएको वडाले शिक्षकको तलब नै रोक्का हुने गरी कडा निर्णय लिएको हो । ‘हामीले पुर्व जानकारी गराई सकेका छौं’ वडा अध्यक्ष प्रेम लामिछानेले भने– ‘अटेरी गर्ने शिक्षकलाई कार्वाहीको बाटो अर्को नभएकाले तलब रोक्का गर्ने सम्मको कार्वाहीमा जाने निधो गरियो ।’ विद्यालय सुधार योजना कार्यान्वयन गर्नको लागि वडा कार्यालयको आयोजनामा वडा भित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा जनप्रतिनिधिको सामुहिक छलफल गराएको वडाले विद्यालयको सुधारका लागि अनुगमनलाई समेत व्यविस्थत बनाउन लागेको छ ।
सामुदायिक विद्यालयमा पढाउने शिक्षकलाई आफ्ना छोराछोरीलाई सामुदायिकमै पढाउन आग्रह गरिएको र अटेरी गर्ने शिक्षकको तलब रोक्का गर्ने निर्णय भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘सरोकारवाला सबै बसेर छलफल गरी यो निर्णयमा पुगेका हौं’ लामिछानेले भने ‘शैक्षिक सुधारका लागि वडा कार्यालय र यहाँका विद्यालयले ल्याएको योजनालाई सफल बनाउन शिक्षक कर्मचारीले सहयोग गर्नेमा हामी विश्वस्त छौं ।’ सर्वपक्षिय भेलालले प्रत्येक विद्यालयको शैक्षिक गुणस्तरको सुधारको लागि विद्यालय स्तरमा अनुगमन समिती बनाएर नियमित अनुगमन गर्ने निर्णय समेत गरेको छ । वडा स्तरमा एउटा र विद्यालयगत एक÷एक वटा अनुगमन समिती बनाएर बिद्यार्थी, शिक्षक, अभिभावक, बिद्यालयको भौतिक संरचना लगायतका सबै बिषयमा अनुगमन गर्न लागिएको लामिछानेले जानकारी दिए । विद्यालय सुधार योजना अन्र्तगत नै रहेर वडा भित्रका सबै विद्यालयमा शैक्षिक प्रगतीको मापन समेत गरिने भएको छ ।
कक्षा ५ र कक्षा ८ को परिक्षामा विद्यार्थीले प्राप्त गर्ने नतिजाको आधारमा विद्यालयको शैक्षिक अवस्था मापन गर्ने र उत्कृष्ट विद्यालयलाई प्रोत्साहन तथा कमजोर विद्यालयलाई सुधारको लागि सुझाव दिने व्यवस्था गर्न लागिएको वडाध्यक्ष लामिछानेले बताए । ‘विद्यालयहरुले समुदायसँग बसेर छलफल गरी विद्यालय सुधारको लागि ययोजना बनाएका छन्’ लामिछाने भन्छन्– ‘आँफैले बनाएको योजनालाई अक्षरश पालना गर्दै शैक्षिक गुणस्तर बृद्धिमा ध्यान दिन हामीले विद्यालयलाई जिम्मेबार बन्न भनेका छौं ।’ झट्ट हेर्दा विद्यालय सुधारका लागि ल्याएका योजना तथा कार्यान्वयन नगर्नेलाई गरिने कार्वाहीको बिषय अलिक कडा भएपनि यसले शिक्षक, विद्यार्थी र विद्यालय सबैलाई हित गर्ने उनको भनाई थियो ।