८ बैशाख २०८१, शनिबार
Follow Us

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो भ्रमण

sarusaru
२८ बैशाख २०७५, शुक्रबार ०६:०८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ५१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार आउँदैछन्। पहिलोपटक राजधानी काठमाडौंभन्दा बाहिर जनकपुरबाट उनले दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्।

११ जना वरिष्ठ अधिकारीहरूको टोली, चिकित्सक र निजी सचिवलगायत २० जना सहयोगी, १४ जना सुरक्षाकर्मी, २ जना सञ्चारकर्मी तथा ३ जना दोभाषे र १ जना मर्यादापालक समावेश टोलीको नेतृत्व गर्दै उनी आउन लागेका छन्। जनकपुर अवतरण गर्नुभन्दा १८ घण्टा अगाडि सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीका हैसियतमा आफ्नो तेस्रो नेपाल भ्रमणले दुई देशबीच सदियौँदेखि रहँदै आएको सम्बन्धको महत्व दर्शाउने ट्विटमा उल्लेख गरेका छन्।

उनले बिहीबार दिउँसो सामाजिक सञ्जालमा कर्नाटकबाटै नेपाल भ्रमणबारे पोस्ट गर्दै जनकपुर र मुक्तिनाथ दर्शनको व्यग्र प्रतीक्षा गरिरहेको सार्वजनिक गरेका छन्। ‘यसपटकको नेपाल भ्रमणमा जनकपुर र मुक्तिनाथ मन्दिरको समेत दर्शन गर्न लाग्दैछु। यी धार्मिकस्थलहरू नेपाल र भारतका जनताबीचको सम्बन्धको परिचायकका रूपमा समेत रहेका छन्’, उनले ट्विटमा उल्लेख गरेका छन्।

शुक्रबार दुईदिने औपचारिक भ्रमणमा भारतीय वायु सेनाको विशेष विमानबाट मोदी ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहान सवा १० बजे जनकपुरको रंगभूमि मैदानमा अवतरण गर्ने छन्। भारतीय राज्य बिहारको पटनाबाट आउँदा उनको साथमा तीन हेलिकप्टर रहनेछन्। सरकारले उनको भ्रमणलाई उच्च महत्व दिँदै सुरक्षाको विशेष व्यवस्था र सम्मानको व्यापक तयारी पूरा गरेको छ। उनलाई जनकपुरमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन्।

नेपाली प्रधानमन्त्री मात्र भारत भ्रमणमा जाने तर भारतीय समकक्षीको नेपाल भ्रमण हुन नसकिरहेका बेला मोदीले नै यसअघि २०७१ साउन १८ मा १७ वर्षपछि क्रमभंगता तोडेर भ्रमणमा काठमाडौं आएका थिए। त्यसयता प्रधानमन्त्रीका रूपमा यो उनको तेस्रो भ्रमण हो। यसबीच उनी सार्क सम्मेलनमा १० मंसिर ०७१ मा दोस्रोपल्ट काठमाडौं आएका थिए। उनलाई त्यसबेला तत्कालीन प्रधनमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

अघिल्ला भ्रमणमा नै उनले जनकपुर भ्रमण र जानकी मन्दिरमा पूजाअर्चना गर्ने चाहना व्यक्त गरे पनि त्यसबेला भ्रमण जुरेको थिएन। जानकी मन्दिरमा उनले पूजा गराउने व्यापक तयारी गरिएको छ। उनले जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओलीसँगै संयुक्त पूजाअर्चना गर्नेछन्। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको घोषणा गर्नेछन्। प्रधानमन्त्री ओली शुक्रबार बिहान ७ः२० मा सेनाको हेलिकप्टरबाट जनकपुर जाँदैछन्।

रामायण सर्किटको घोषणापछि भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाको आयोजनामा बाह्र बिघामा विशेष अभिनन्दन गरिने कार्यक्रम छ। त्यहाँ उनले सम्बोधन गर्नेछन्। दुई घण्टाको जनकपुर बसाइपछि उनी भारतीय वायु सेनाकै विमानबाट काठमाडौं आउनेछन्। उनलाई काठमाडौंमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नेछन्।

काठमाडौंमा अवतरणसँगै उनी बौद्धस्थित हायात होटल जानेछन्। दिउँसो ४ बजे सैनिक मञ्च टँुडिखेलमा उनलाई सेनाले ‘गार्ड अफ अनर’ दिनेछ।

त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बहादुर भवनमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार नै दुई प्रधानमन्त्रीबीच साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुनेछ भने त्यसलगत्तै द्विपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता हुनेछ। उक्त वार्ता पनि होटेल द्वारिकाजमै हुने भएको छ।

द्विपक्षीय वार्तापछि मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने र त्यहीँ अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीले साँझ उनको सम्मानमा होटल द्वारिकाजमै रात्रीभोज आयोजना गरेका छन्।

मोदी २९ गते बिहान ६ बजे नै मुस्ताङको मुक्तिनाथमा पूजाअर्चनाका लागि जानेछन्। त्यहाँ बिहान ७ः५० मुक्तिनाथ दर्शन र पूजाअर्चना गर्नेछन्। मुक्तिनाथ दर्शनपछि जोमसोम हुँदै उनी काठमाडौं उत्रनेछन्। काठमाडौं आएर उनले पशुपतिनाथ दर्शन गर्नेछन् भने दिउँसो काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा उनको सम्मानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। अभिनन्दनपछि उनी दिउँसो ४ बजे स्वदेश फर्किनेछन्।

भ्रमणको पूर्व संन्ध्यामा कर्नाटक राज्यबाट सामाजिक सञ्जालमा मोदीले यस्ता नियमित द्विपक्षीय उच्चस्तरीय भ्रमण र अन्तरक्रियाले ‘सबैको साथ सबैको विकास’ भारतको नारालाई र ‘छिमेक पहिले’ नीतिमा आफ्नो सरकारको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताएका छन्। उनले प्रधानमन्त्री ओलीको गत महिना भारत भ्रमणका अवसरमा आफूहरूबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताउँदै विकासका विविध क्षेत्रमा सहकार्य गर्ने सहमति भएको पनि स्मरण गराएका छन्।

नेपाल प्रजातन्त्र संस्थागत गर्ने र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि उल्लेख गर्दै विकास र प्रगतिमा भारत सधैं नेपालको साथमा रहने मोदीले उद्घोष गरेका छन्। ‘नेपालको विकासमा भारत सधैं साथमा रहने र समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न नेपाललाई साथ दिन भारत सधैं तयार छ’, मोदीले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो भ्रमणले दुई देशका नागरिकहरूको सम्बन्धमा विश्वासको वातावरण कायम गर्न फलदायी पनि साबित हुनेछ।’
अन्नपूर्ण पोष्ट ।