१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय प्रधानमन्त्रीको अभिनन्दनमा संविधानप्रति कटाक्ष

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७५, शुक्रबार १६:०५

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाको तर्फबाट मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गरे । भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगर, प्रदेश सरकार र उद्योग बाणिज्य संघका तर्फबाट १२१ किलोका ३ वटा मालाले स्वागत गरेका थिए । शुक्रवार विहान जानकी मन्दिरमा पूजा अर्चना गरेका मोदीलाई प्रधानमन्त्री भएपछि पहिलो पटक कुर्था सुरुवालमा सजिएका प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिर परिसरमै स्वागत गरेका थिए ।

अन्तरहृदयबाटै धार्मिक आस्था राख्ने मोदी र धर्मलाई अफिम बताउने कम्युनिष्ट नेता ओलीले एकसाथ रामजानकी मन्दीरमा पूजा गरेका थिए । तिन वर्ष ध्यान साधनामा लिन रहेका मोदीलाई सिद्धि प्राप्त व्यक्तिका रुपमा चित्रित गर्ने गरिन्छ । रामजानकी मन्दीरको पूजाआजा पछि जनकपुरको बाह्र विघामा आयोजना गरिएको नागरिक अभिनन्दनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारत र भारत बिना नेपाल अधुरो रहने बताएका छन् ।

यसअघि प्रदेश सरकारका मुख्यामन्त्री लालवावु राउतले मधेसी जनताप्रति उपेक्षा गरिएको संविधानको आफूहरुले संघर्ष गरिरहेको जानकारी भारतीय प्रधानमन्त्री मोदीलाई गराएका थिए । तर मोदीले त्यसप्रति कुनै टिप्पणी गरेनन् बरु आफू भारतीय प्रधानमन्त्रीका रुपमा नभएर प्रधान तिर्थयात्रीका रुपमा जनकपुर आएको बताएका थिए ।

जनकपुर रंगभूमिमा जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दनपछि मोदीले नेपाल र भारतको सम्बन्ध अहिलेको नभइ त्रेता युगदेखि रहदै आएको बताए । उनले भने, ‘नेपाल बिना भारत अधुरो छ, हाम्रो सँस्कृति अपुरो छ । नेपाल र भारत आस्था, आफ्नोपन अनि रोटी–बेटीको सम्बन्ध छ ।’ ‘मिथिला बिना भारतको अयोध्या अधुरो, सीता बिना राम अधुरो । यस्तै नेपाल र भारत भिन्दा भिन्दै होइन परिपुरक छौँ ।’

भारतीय प्रधानमन्त्री मोदीले भने नेपाल र भारतको माता (सीता) पनि एक र आस्था पनि एक रहेको बताउँदै, ‘हाम्रो दृष्टि समान, सृष्टि पनि समान छ । नेपाल भारतको मित्र मात्र नभइ परिपुरक रहेको बताएका छन् । भारतको नेवरहुड फस्टको नीतिमा नेपाल पहिलो स्थानमा रहेको मोदीको भनाई छ ।
मोदीले दुवै देशका नागरिकलाई रोकतोक बिना झनझट आउन पाउनु पर्ने बताए । यस्तै उनले सम्भव भएका सबै माध्यमबाट जोडिनु पर्ने आवश्यकता रहेको बताएका छन् । जनताबिचको नाता जोड्नका लागि भारत र नेपालबीच कनेक्टिभिटिलाई आफूले जोड दिएको बताए ।