१६ चैत्र २०८०, शुक्रबार
Follow Us

माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

sarusaru
२९ बैशाख २०७५, शनिबार ०५:२२

काठमाडौँ, २९ वैशाख (रासस) ः गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यह िवैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गङ्गबुँ भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो । बानियाँटारबाट सामाखुशी जान लाग्नुभएकी सत्यकला दवाडी सवारी नपाएपछि हिँडेर जानुभयो । “माइक्रोबस कम भएपछि खुट्टा हाल्ने ठाउँसमेत नभएपछि म हिँडेर आएको हुँ,”, उहाँले भन्नुभयो ।

यसैगरी सामाखुशीबाट रत्नपार्क जान लाग्नुभएका रोहित ढकाल सवारी नपाएपछि तनावमा देखिनुहुन्थ्यो । “बस चढ्नका लागि ठाउँ नै छैन कसरी जाने”, उहाँ प्रश्न गर्नुहुन्छ । यी केवल प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरुजस्ता हजारौँ नागरिक बस नपाएर बिचल्लीमा पर्नुभएको छ । गँगबुँ, गल्कोपाखा, लैनचौर भएर रत्नापार्क चल्ने १०५ बसमध्ये दुई दर्जनभन्दा बढी बस निलम्बनमा परेका हुन् ।
सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागार्इँ २६ बस निलम्बन गरिएपछि यात्रुलाई समस्या परेको बताउनुहुन्छ । “नेपालभरीका सवारी नचलेको अवस्थामा सामाखुशीका २६ बसलाई मात्र किन निलम्बन गरियो ?”, उहाँले प्रश्न गर्नुभयो ।

निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उहाँ ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको गुनासो गर्नुहुन्छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले निलम्बन फुकुवाका लागि सामाखुशी यातायातले विभागमा निवेदन दिएको बताउँदै उक्त कारवाहीबारे कुनै निर्णय नभइसकिएको जानकारी दिनुहुन्छ । निलम्बन फुुकुवाका लागि विभागमा छलफल भइरहेको उहाँको भनाइ छ ।

सामाखुशी यातायातले यात्रुको चाहना र आवश्यकतालाई हेरेर दिगो सार्वजनिक यातायात प्रालिमार्फत जेठ महिनाभित्र थप १७ ठूला बससमेत सञ्चालन गर्न लागेको छ । प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गँगबुँ, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म १७ नयाँ बस सञ्चालन गर्न लागेको छ ।

सामाखुशी यातायात व्यवसायी संघका अध्यक्ष सानुकाजी प्रजापति रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

सोही मार्गमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस जेठभित्र नेपाल आउने र सञ्चालन भइसक्ने उहाँको भनाइ थियो ।

सोही मार्गमा ठूला बस सञ्चालन भएसँगै गँगबुँबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी मार्ग निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी मार्गमा ठूला तथा टर्सरी मार्गमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
रासस