१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाललाई के के दिने घोषण गरेर फर्किए भारतीय प्रम मोदी ?

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७५, शनिबार १५:५६

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने कार्यक्रमलाई सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “नेपालको खुशी भारतको खुशी हो । नेपालको सफलता र खुशीका लागि हरतरहको आवश्यकतामा भारतको साथ रहन्छ ।”

उहाँले विकास र समृद्धिको यात्रामा नेपालसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उल्लेख गर्दै रेलमार्ग, सडकमार्ग, एकीकृत जाँच चौकी, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन जस्ता विषयहरू अगाडि बढिसकेको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो – “नेपालको समृद्धि र विकासका लागि पर्वतारोहीलाई शेर्पाले सहयोग पु-याए जस्तै भारत शेर्पा भएर काम गर्न तयार छ ।”

काठमाडौँलाई रेलमार्गबाट भारतसँग जोड्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम शुरु भएको जानकारी दिदै उहाँले सो कार्य छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

एकै वर्षमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन गरी लोकतान्त्रिक सरकार गठन गरेकामा सो कार्यको सराहना गर्दै उहाँले अब लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने माहोल बनेको धारणा व्यक्त गर्नुभयो ।

‘राजा जनकको शस्त्र तोड्ने र स्नेह जोड्ने’ भावना विश्वका लागि नै प्रेरणाको स्रोत बन्न पुगेको प्रधानमन्त्री मोदीको कथन थियो ।

आफू बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि उपयुक्त समयमा पुनः नेपाल आउने वचनबद्धता प्रकट गर्दै उहाँले आफूले भ्रमण गरेका जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ केवल महत्वपूर्ण तीर्थस्थल मात्र नभई नेपाल र भारतबीचको सम्बन्धको पर्वतमाला हुन् भन्नुभयो ।

नेपालको प्राकृतिक र सांस्कृतिक सम्बन्धका बारेमा काव्यात्मक शैलीमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री मोदीले नागार्जुन र शिवपुरी जंगल, बागमती नदी, हजारौं मन्दिर, मञ्जुश्री गुफा, बौद्ध विहार, कला र संस्कृति रहेको काठमाडौँलाई विश्वको अनौठो शहरको रुपमा चित्रण गर्नुभयो ।

उहाँले भन्नुभयो – “पश्चिमतिर धौलागिरि, अन्नपूर्ण र अर्कोतर्फ सगरमाथा र कञ्चनजंगा रहेका छन् । यस्तो दृश्य विश्वमा कही पनि सम्भव छैन । त्यो केवल काठमाडौँमा मात्रै रहेको छ ।”

सबै स्वस्थ हुन्, सबैको कल्याण होस्, कसैलाई पनि दुःख नपरोस् भन्ने शास्त्रको भनाइ र मान्यता जस्तै उहाँले आफ्नो विदेश नीति सबैलाई साथमा लिएर अगाडि बढ्नेमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाँले खेलको माध्यमबाट पनि जनस्तरमा सम्बन्ध थप प्रगाढ भएको उल्लेख गर्दै हाल भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगितामा नेपालमा खेलाडी सन्दिप लामिछानेको सहभागिता त्यसैको उदाहरण हो भन्नुभयो ।

नागरिक अभिनन्दन समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासमा भारत सधैं सहयोगी रहेको बताउँदै मोदीको बहुआयामिक नेतृत्वमा भारतले गरिरहेको विकासप्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले मोदीको स्वच्छ भारत अभियानबाट नेपालका शहरले विकासको काममा प्रेरणा लिन सक्ने उल्लेख गर्दै दुई देशबीचका उच्चस्तरीय भ्रमणबाट आपसी सम्बन्ध अरु गाढा र फराकिलो हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई जीवन्त र समृद्ध शहरका रुपमा विकास गर्न योजनासहित आफूहरु लागिरहेको अवगत गराउनुभयो ।

कलात्मक साँचो हस्तान्तरण
प्रमुख शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौँ महानगरपालिकाको कलात्मक साँचो हस्तान्तरण गर्नुभयो । भारतका प्रधानमन्त्री मोदीका लागि काठमाडौँको ढोका सधैं खुला छ भन्ने सन्देश सो साँचोले बोकेको छ । प्रमुख शाक्यले उपहार स्वरुप प्रधानमन्त्री मोदीलाई बुद्धको ५० किलोग्रामको कलात्मक मूर्ति र मयूर झ्याल प्रदान गर्नुभयो । समारोहमा संघीय सरकारका मन्त्रीहरु, प्रदेश नं ३ का मुख्यमन्त्री, यहाँस्थित कूटनीनिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।