१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघ बेलायतको अध्यक्षमा अर्याल सहित ४ जनाको दावी

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७५, शनिबार २१:०७

लण्डन । नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्ष पदमा पत्रकार ध्रुबराज अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार एक वक्तव्य जारी गर्दै वर्तमान कार्यसमितिका उपाध्यक्ष अर्यालले भावी अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार महासंघ बेलायतको चौथो अधिवेसन यहि मे १९ मा तय छ ।
उम्मेदवारी घोषणा गर्दै अर्यालले संस्थाको शुद्धिकरण र पेशाको व्यवसायीकरणलाई मुल मन्त्र बनाएर काम गर्ने प्रतिबद्धता गरेका छन् । विभिन्न ९ वटा बुंदामा प्रतिबद्धताहरु सार्वजनिक गर्दै अर्यालले संस्थाको प्रतिष्ठा र गरिमालाई उचो बनाउने गरी काम गर्ने अठोट व्यक्त गरेका छन् ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष अर्याल बेलायतबाट प्रकाशित हुने युरोपको नेपालीपत्रका सम्पादक हुन् । बेलायतको नेपाली समुदायमा एक निस्पक्ष र व्यवसायिक पत्रकारको छवि बनाउन सफल उनी पत्रकारहरुमाझ पनि लोकप्रिय मानिन्छन् ।
नेपालमा एबिसी टेलिभिजन तथा एबिसी समाचार रेडियोबाट व्यवसायिक पत्रकारिता थालेका अर्यालसंग नेपालमा मुल्यांकन पाक्षिक, नवयुवा लगायतका राष्ट्रिय मिडियाहरुका लागि काम गरेको अनुभव छ । ९ वर्षअघि बेलायत आएलगत्तै यहांस्थित नेपाली टेलिभिजनबाट समाचारमुलक कार्यक्रम तथा समसामयिक बहस कार्यक्रमहरुमार्फत आफ्नो पत्रकारितालाई निरन्तर राखेका अर्यालले अनलाइनखबर, राजधानी दैनिक लगायतका नेपालका राष्ट्रिय मिडियाहरुका लागि बेलायतबाट रिपोर्टिंग समेत गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजीमा स्नातक गरेका अर्यालले बेलायतबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स तथा टुरिजम मेनेजमेन्टमा बिए अनर्ससम्मको पढाइ पूरा गरेका छन् ।

बेलायतमा रहेर पनि पुर्णकालीन रुपमा पत्रकारितामै सक्रिय रहंदै आएका अर्याललाई बेलायतस्थित सम्पुर्ण क्रियाशिल पत्रकारहरुको प्रतिनिधी उम्मेदवारको रुपमा हेरिएको वताएको छ । यस्तै अध्यक्ष पदमा वर्तमान अध्यक्ष नरेश खपांगी, बरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, पूर्वउपाध्यक्ष दिनेश परियारले उम्मेदवारी दिने घोषणा गरेका छन् । महासंघको १९ मे मा हुने निर्वाचनको लागि आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

अध्यक्ष पदका उम्मेदवार ध्रुब अर्यालद्धारा जारी विज्ञप्ति
सम्पुर्ण पत्रकार साथीहरु, नमस्कार ।
सर्वप्रथम त नेपाल पत्रकार महासंघ बेलायतको यहि मे १९ मा तय चौथो अधिवेसनबाट निर्वाचित हुने नयां कार्यसमितिमा अध्यक्ष पदका लागि मैले उम्मेदवार बन्ने निर्णय गरेको निवेदन यहांहरु सबैमा गर्न चाहन्छु ।
हामीहरु सबैको आस्था र श्रद्धाको केन्द्रका रुपमा स्थापित यस संस्थाको नेतृत्वमा रहेर संस्था र यसमा आबद्ध सम्पुर्ण पत्रकार साथीहरुको हितमा काम गर्ने मेरो दृढ आकांक्षामा यहांहरुको सद्भाव, सहयोग र समर्थन रहने नै छ भन्ने विश्वास मैले लिएको छु ।
यसभन्दा अघि दुई कार्यकालसम्म संस्थाको कार्यसमितिमा बसेर काम गर्ने अवसर पाउंदा मैले धेरै कुराहरु सिक्ने, बुझ्ने र अनुभव गर्ने अवसर पाएको छ । यीनै अनुभवहरुबाट सिकेर आउंदा दिनहरुमा अझै बढि सशक्त र प्रभावशाली रुपमा संस्थालाई अघि बढाउने र संस्थामा आबद्ध सम्पुर्ण साथीहरुको भावनाअनुरुप संस्थाको गरिमा र प्रतिष्ठालाई अझ बढि उचो बनाउने गरी काम गर्ने मेरो अठोट यहांहरुसम्म राख्न चाहन्छु ।
झण्डै एक दशकदेखि बेलायतमा बसेर पनि पुर्णकालीन रुपमा पत्रकारितामा क्रियाशिल रहने क्रममा मैले यहांका पत्रकार साथीहरुले व्यवहारिक रुपमा झेल्दै आएका समस्या र अफ्ठेराहरुलाई देख्ने मात्र होइन, नजिकबाट बुझ्ने र महसुस गर्ने मौका पनि पाएको छु । जसबाट पनि संस्था र साथीहरुको हितमा मैले प्रभावकारी रुपमा काम गर्न सक्छु भन्ने मेरो आत्मविश्वास अझ बढेको छ ।
तपाई सम्पुर्ण साथीहरुको साथ र समर्थनबाट आउंदो दुई वर्षसम्म संस्थाको नेतृत्वमा रहेर संस्थाको शुद्धिकरण र पेशाको व्यवसायीकरण लाई मुल मन्त्र बनाएर काम गर्ने मेरो दृढ संकल्पमा यहांहरु सबैको सहयोग, साथ र समर्थनका लागि हार्दिक अनुरोध गर्दछु ।
मेरा प्रतिबद्धताहरु
१ संस्थामा आबद्ध सम्पुर्ण साथीहरुको भावनालाई समेटेर संस्थामा सम्पुर्ण सदस्यहरुको सहभागिता र अपनत्व सुनिश्चित गर्ने ।
२ बेलायतस्थित नेपाली सञ्चार माध्यमहरुका सञ्चालक, प्रकाशक, समुदायका अगुवा तथा संघसंस्थाहरु समेतको समन्वयमा बेलायतमा क्रियाशिल पत्रकारहरुले व्यहोर्दै आएका विविध समस्याहरुको समाधानका लागि पहल गर्ने ।

३ पत्रकार साथीहरुको सीप विकास तथा कार्यक्षमता अभिबृद्धिका लागि नियमित रुपमा व्यवसायिक तालिम, प्रशिक्षण र गोष्ठीहरु सञ्चालन गर्ने । जसका लागि नेपाल पत्रकार महासंघ केन्द्रसंग समन्वय गर्दै मुल धारको बेलायती मिडियासहितका अन्तर्राष्ट्रिय मिडिया, पत्रकार संगठनहरु तथा बेलायती विश्वविद्यालयहरुसंग सम्बन्ध बिस्तार गर्ने ।
४ केन्द्रसंगको सहकार्यमा बेलायती विश्वविद्यालय तथा मिडियाहरुमा संलग्न विज्ञहरुबाट नेपालस्थित मिडियामा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम, प्रशिक्षण सञ्चालन गर्न पहल गर्ने ।

५ आपतकालीन अक्षय कोषका लागि गतवर्ष संकलित कोषको व्यवस्थापन र परिचालनलाई पारदर्शी तथा व्यवस्थित गर्ने । कोष अभिबृद्धिका लागि कार्यक्रम गर्ने । त्यस्तै, एनआरएन यूके र पत्रकार महासंघ यूकेको पहलमा स्थापित पत्रकारिता पुरस्कार वितरणको प्रक्रियालाई पारदर्शी र व्यवस्थित गर्न एनआरएन यूकेसंग मिलेर पहल गर्ने ।

६ संस्थाको सदस्यता शुल्क कम गर्न तथा उम्मेदवारी निशुल्क गर्न पहल गर्ने ।
७ कार्यसमितिको लागि तोकिएको पदावधि पूरा हुनु अगावै अधिवेसन सम्पन्न गरी पारदर्शी रुपमा नेतृत्व हस्तान्तरण गर्ने । दोस्रो कार्यकालका लागि नेतृत्वमा दाबी नगर्ने । सदस्यता वितरण प्रक्रियालाई संस्थाको प्रतिष्ठामा असर नपुग्ने गरी पारदर्शी र निश्पक्ष तरिकाले गर्ने ।
९ बेलायतस्थित नेपाली समुदायसंगको संस्थाको सम्बन्धलाई थप सुदृढ गर्न पहल गर्ने । समुदायिक महत्व र हितका विविध विषयमा पत्रकार महासंघ र समुदायबीचको सहकार्य बढाउने ।
धन्यवाद ।

ध्रुबराज अर्याल,
अध्यक्ष उम्मेदवार तथा उपाध्यक्ष
नेपाल पत्रकार महासंघ बेलायत