१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिंगो परिवारविरुद्ध मानव बेचबिखन मुद्दा

sarusaru
३० बैशाख २०७५, आईतवार १०:२३

भरतपुर । एक युवतीले आफूलाई भारत वृन्दावनमा लगेर बेचेको भन्दै चितवनको एक परिवारविरुद्ध जाहेरी दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको सूचनाअनुसार मुद्दामा परिवर्तित नाम भरतपुर महानगरपालिका–३५ रहेकी १९ वर्षीय विवाहित युवतीले आफूलाई बेचेको आरोपमा रत्ननगर–१० बस्ने एक लम्साल परिवारविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको प्रहरी प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
मानव बेचबिखन घटनाको मुख्य दोषी भनिएको वर्ष ४० को सरोज लम्साल, उनको दाइ सूर्य लम्साल, भाउजु सरू लम्साल, आमा गंगा लम्साल र दिदी अप्सरा लम्साल रहेका छन् । प्रहरीका अनुसार आरोपित अप्सराबाहेक अरु पक्राउ परेका छन् । आफू यसअघि आर्मीसँग बिहे भइ गएको र सरोजले फकाइफुलाइ सुनौली नाका हुँदै भारत लगेर बेचेको निवेदकको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
छोराको अपराधमा आमालाई कष्ट
छोरी हरिमाया गुरूङ हराएको भन्दै उनको अभिभावकले गत पुस महिनामा जिल्ला प्रहरी कार्यालय चितवनमा खोजीका लागि निवेदन दिए । उनीहरुले भरतपुर–९ बस्ने हाल भारत रहेका बाबुराम थापाविरुद्ध उजुरी हाले । बाबुरामले बिहे गरी आफ्नो छोरी भारत लगेर बेचेको परिवारको आरोप छ ।
तर, छोराले अपराध गरेको भन्दै पीडित परिवारले आमा वर्ष ६० की विष्णुदेवी थापालाई प्रतिवादी बनाएको छ । उनी अहिले चितवन प्रहरी हिरासतमा रहेकी छन् । आफ्नो छोरी बाबुरामसँग भारत गएको सम्म थाहा भएको र त्यसको केही समयपछि छोरी सम्पर्कविहीन बनेपछि पीडितपरिवारले थापाविरुद्ध नै जाहेरी दिएको हो ।
सम्पर्कविहीन भएपछि मुद्दा
विभिन्न अपराधिक घटनामा पीडित पक्षले विषयान्तर गरेर जाहेरी दिन थालेका छन् ।
उल्लेखित दुई घटनामा पीडित भनिएका महिलाहरु आफूखुसी भारत गएको देखिन्छ । तरपछि परिवारसँग सम्पर्कविहीन भएपछि नेपालमा रहेका आफन्तले सम्बन्धित पुरुषलाई दोष देखाएर बेचबिखनको मुद्दा हाल्ने गरेका छन् । मुद्दापनि सम्बन्धित पीडकलाई भन्दा पनि सबै घरपरिवारलाई नै दोषी देखाइहाल्ने गरिएको छ । जसले एउटाको गल्तीमा अन्यले पनि दुःख पाउने गरेका छन् ।