१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सय वर्षमा शताब्दी पुरुष जोशी

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७५, आईतवार १३:४२

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्नुभएको छ । विसं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको हो । तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति संस्कृतिविद् जोशी हुनुहुन्छ ।

जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाउनुभएको थियो । ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो ।

विसं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बन्नुभयो । जोशीले २०१६ सालमा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गर्नुभयो । भाषा, कला, संस्कृतिको संरक्षण, संबद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । जोशीको योगदानको कदर गर्दै सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्तलगायत पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

काठमाडौँ विश्वविद्यालयले उहाँलाई मानार्थ विद्यावारिधिको सम्मानसमेत प्रदान गरेको छ । नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीप र शताब्दी पुरुषको सम्मान दिएको छ । जोशीले संस्कृतिको क्षेत्रमा पु¥याउनुभएको योगदान स्मरण गर्दै आज बिहानैदेखि उहाँको निवास पाटन पुगेर सम्मान गर्नेको भीड लाग्यो । जोशीको घरमा पुग्नेले सुस्वास्थ्य, दीर्घायु र सांस्कृतिक क्षेत्रमा अझै धेरै ज्ञान र अनुभव बाँड्न सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए ।

जोशीको योगदानको कदर गर्दै यसै वर्ष ललितपुर महानगरपालिकाले उहाँलाई चालकसहितको सवारी साधनको सुविधासमेत उपलब्ध गराएको छ ।