१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुन तस्करी नै नभएको अभियुक्त पक्षका वकिलको दावी

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७५, आईतवार १५:३१

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस अन्तर्गत आइतबारदेखि अभियुक्तहरुको तर्फबाट बहस शुरु भएको छ । जिल्ला अदालत मोरङमा भएको बहसमा अभियुक्तहरुको तर्फबाट बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ताहरुले सुन तस्करी नै नभएको तर्क गर्दै अभियुक्तहरुमाथिको आरोप सरासर झुठा भएको दाबी गरे ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा भईरहेको सुनुवाईमा अभियुक्तको पक्षबाट आइतबार वरिष्ठ अधिवक्ताहरु राजु बस्नेत, यदुनाथ खनाल, रमण श्रेष्ठ र शम्भु थापाले बहस गरेका हुन् ।

बस्नेतले अभियुक्त बालकृष्ण श्रेष्ठ, एलवी भनिने लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्विरप्रसाद तोलङ्गे, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, तक्ले भनिने पुण्यप्रसाद लामा र हेमन्त गौतमको प्रतिरक्षा गरे । खनालले एसपी विकासराज खनालको पक्षमा मात्रै बहस गरे ।

पूर्व महान्यायाधीवक्ता समेत रहेका श्रेष्ठले सुन तस्करीका लगानीकर्ता भनिएका भुजुङ गुरुङ, पूर्व डीआईजी गोविन्द निरौला र एसपी खनालका पक्षमा बहस गरे । थापाले भुजुङ गुरुङ र एसपी खनालको प्रतिरक्षा गरे । उनीहरुले सुन तस्करीको मुद्दा चलाउने क्षेत्राधिकार मोरङ प्रहरीलाई नभएको जिकिर पनि गरे ।