८ बैशाख २०८१, शनिबार
Follow Us

आजदेखि मुलुक लोडसेडिङ मुक्त

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७५, सोमबार ०५:२१

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन् । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ ।

आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको औपचारिक घोषणा भने सोमबारदेखि मात्रै हुँदैछ । घिसिङले भने ‘सोमबारदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ हट्दैछ ।’

जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएका थिए । सोही अनुरुप वैशाखको अन्त्यमा आएर उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाएको घिसिङले जानकारी दिएका छन् ।

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’
अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङ बताउँछन् ।

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।