१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टच नै नगरी फिल्म सकिएछ

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७५, सोमबार १३:४४

प्रमिला थापा, सचिव महिला संघ, मोरङ
राजनीति गर्ने व्यक्तिले अरुसँग आर्थिक सहयोग माग्न थाल्यो भने उसले नैतिक धरातल गुमाउने मोरङ महिला संघ सचिव प्रमिला थापाको भनाइ छ । राजनीतिका अलावा उनी ब्युटिसियन पेसामा पनि क्रियाशील छिन् । भन्छिन्, ‘मानिसमा इच्छाशक्ति भयो भने उसले धेरै काम गर्न सक्छ ।’
‘सेतो बाघ’ चलचित्रमा जेठी महारानीको भूमिका निर्वाह गरेकी प्रमिलाको सोख गायनमा पनि छ । लेखन विधिमा कमै रुचि राख्ने प्रमिलाले राजनीति, व्यवसाय र घरपरिवारलाई सँगसँगै अगाडि बढाइरहेकी छन् । प्रमिलासँग कुमार राउतले गरेको कुराकानी :

० तपाईं राजनीतिक कार्यकर्ता कि व्यवसायी ?
– राजनीति मेरो प्यासन हो, पेसाले म ब्युटिसियन हुँ । घरपरिवार, प्यासन र पेसालाई एकैपटक अघि बढाइरहेकी छु ।

० तीनतिर हात हाल्दा सफल होला र ?
– मेरा बुबाको प्रेरणाले नेपाली कांगे्रसको राजनीति छोड्न मन लाग्दैन । बुबा राजनीतिमा हुनुहुन्थ्यो, म विद्यार्थी जीवनबाटै नेविसंघको राजनीतिमा हुर्कें । अरुसँग हात थापेर राजनीति वा घर चल्दैन, त्यसैले आफूले जानेको पेसा अपनाएँ । एउटी महिलाले गृहस्थ पनि हेर्नैपर्छ । यी सबै कुरा एकअर्कासँग सम्बन्धित छन् । त्यसैले इच्छाशक्ति भयो भने गर्न नसक्ने कुरा केही रहेनछ भन्ने लाग्छ ।

० पार्टीले के जिम्मेवारी दिएको छ ?
– महिला संघ मोरङकी सचिव हुँ, मोरङ अन्तरपार्टी सञ्जालकी अध्यक्ष पनि हुँु । यद्यपि काम गर्नलाई पद चाहिन्छ भन्ने होइन, तर पछिल्लो समय राजनीतिक दलको गतिविधिले जनतामा निराशा बढाएको छ । अर्थात् स्तरहीन राजनीति हाबी हुँदै गएको छ ।

० स्तरहीन राजनीति भनेको ?
– पार्टी संगठनमा मेहनत नगर्ने, पैसा बुझाएर शीर्ष नेताको चाकडी गरे पार्टीमा जुनसुकै पद पाइन्छ भन्ने सोचको विकास भइरहेको छ ।

० एउटा उदाहरण दिनुस् न ?
– स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार केन्द्रले तोक्न थाल्यो । स्थानीय तहको नेता छान्ने जिम्मेवारीसमेत केन्द्रले लिएपछि निष्ठाको राजनीति गर्नेहरूको मनमा ठेस लाग्छ ।

० टिकट नपाएको तुष हो कि ?
– म उम्मेदवारको आकांक्षी थिइनँ । मभन्दा सिनियर दिदीहरूले नै टिकट नपाएको अवस्थामा मैले पदको आकांक्षा राख्नु गलत हुन्छ । मैले प्रवृत्तिको विरोध गरेकी हुँ, टिकट नपाएको तुष पोखेकी होइन ।

० महिलालाई राजनीति गर्न कत्तिको सजिलो छ ?
– महिलाको राजनीतिक जीवनलाई माछोको जीवनचक्रसँग दाँजेकी छु । ठूला र बलिया बांगाले कमजोरलाई हुर्कन दिँदैन, जसरी समुद्रमा ठूलोले सानो माछाको जीवन हुर्कन नपाई अन्त्य गरिदिन्छ, ठीक त्यसरी नै महिलाको राजनीति पनि अन्त्य गराइन्छ ।

० कहिलेदेखि कांगे्रस ?
– ०४३ सालदेखि नेविसंघमा आबद्ध थिएँ, ०४५ सालदेखि संगठनमा आबद्ध भएँ । एकाइ सदस्य भएर नेविसंघको संगठन विस्तारमा लागें । पद नभए पनि नेविसंघभित्र म लोकप्रिय थिएँ ।

० त्यसपछि ?
– माइतीघरमा आमा विरामी हुनुभयो । त्यसबेला भर्खर आईए पास गरेकी थिएँ । ०५२ सालमा सन्तान हुर्काउँदा मेरो राजनीति ओझेलमा प¥यो । झन्डै १० वर्षपछि पुनः नेपाली कांगे्रसको राजनीतिमा सक्रिय भएँ ।

० नेविसंघको राजनीति गर्नुपर्छ भनेर कसले हुटहुटी लगायो ?
– मेरा बुबा कांगे्रस राजनीतिमा हुनुहुन्थ्यो । उहाँ उच्च पदमा पुग्नु त भएन, तर अनुशासित कांगे्रस हुनुहुन्थ्यो । उहाँकै पे्ररणाले म विद्यार्थी जीवनबाटै कांगे्रस राजनीतिमा आस्थावान हुन पुगें ।

० त्योबेलाको कांगे्रस कार्यकर्ता अहिले भ्रातृसंस्थाको सचिव मात्रै ?
– बीचमा झन्डै १० पार्टी कामलाई निरन्तरता दिन सकिनँ । पेसामा स्थापित भइसकेपछि घरपरिवारको सहयोगमा पुनः राजनीतिमा सक्रिय भएँ । पद र प्रतिष्ठाभन्दा पनि निष्ठाको राजनीतिमा रुचि छ ।

० केका लागि र कसका लागि राजनीति ?
– देश र समाज परिवर्तनका लागि राजनीति गरेकी हुँ । कांगे्रसको आदर्शलाई नेपाली समाजमा स्थापित गर्दै महिलालाई मूलधारमा ल्याउन म पुनः राजनीतिमा फर्किएकी हुँ ।

० सम्भव छ ?
– राजनीतिको डिक्सनेरीमा असम्भव भन्ने शब्द हुँदैन । त्यसैले अहिले केही निराश देखिए पनि यसलाई सच्चाउँदै लैजानुपर्छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो र पारदर्शी बनाएर अघि बढ्नुपर्ने जिम्मेवारी तपाईं हामी युवाहरूको काँधमा छ ।

० कांगे्रस पार्टी त लथालिंग छ होइन ?
– तपाईंले भनेजस्तो लथालिंग छैन, नेतृत्वबाट केही कमीकमजोरी भए होलान्, त्यसलाई सच्चाउनुपर्छ । कांगे्रसलाई सिद्धान्त र विधिविधानअनुसार डो¥याउन युवा समुदायले खबरदारी गरिराख्नुपर्छ ।

० ब्युटिसियन पेसामा कसरी संलग्न हुन पुग्नुभयो ?
– एसएलसी दिएपछिको खाली समयको सदुपयोग गर्दै ब्युटिसियन तालिम लिएकी थिएँ । बुबाले नै २० वर्षपछि काम लाग्छ, तालिम लिइराख भन्नुभएको थियो । ०५९ सालमा ससुराले घरमै सर्टर बनाइदिनुभयो । र, काम थालें ।

० आम्दानी राम्रै हुन्छ ?
– यो सोभर पेसा हो । ब्युटिसियन पेसा धेरै मार्जिन बस्ने आम्दानीको राम्रो स्रोत हो । लगानी थोरै आम्दानी धेरै मात्र होइन, कोठाभित्र संगीत सुन्दै आरामले गर्ने पेसा पनि हो । त्यसबाहेक मैले ४–५ सयलाई तालिम पनि दिइसकेकी छु । मसँग तालिम लिएका झन्डै चार दर्जनले आफ्नै व्यवसाय सञ्चालन गरेका छन् ।

० यो व्यवसायले परिवार पाल्न सकिन्छ ?
– पछिल्लो समयमा आममानिसमा राम्रो बन्नुपर्छ भन्ने सचेतना फैलिएको छ । त्यसैले यो व्यवसाय सञ्चालन गरेर चारजनाको परिवार सजिलै पाल्न सकिन्छ ।

० तपाईंले पाल्नुभएको छ ?
– ससुराको पेन्सन छ, उहाँले घर हेर्नुभएको छ । श्रीमान्को व्यापार छ । मैले कमाएको पैसा बचत हुन्छ । आफूसँग बचत भयो भने केही गर्ने आँट आउँदो रहेछ ।

० श्रीमान् कहाँ भेट्नुभयो ?
– हामी सँगै पढेका हौं, झन्डै चार वर्षजति लभ परेपछि एरेन्ज विवाह गरेका हौं । हाम्रो अहिले छोराले आईटीको अध्ययन सक्यो भने छोरी बीबीए दोस्रो वर्षमा अध्ययन गर्दैछिन् ।

० लभ त लामै परेछ नि ?
– अहिलेको जस्तो टपरटुइँया लभ थिएन, हाम्रा पालामा । अनुशासित लभ हुन्थ्यो । अहिले त एउटासँग चारवटासम्म लभ गरिरहेका हुँदा रहेछन् । धेरैजसो हाम्रो फोनमा कुरा हुन्थ्यो । ससुराबुवा टेलिफोन अफिसको इन्जिनियर हुनुहुन्थ्यो, त्यसैले फोनमा कुरा गरेको पैसा लाग्दैन थियो ।

० के देखेर मन पराउनुभयो ?
– सँगै पढ्ने साथी, टेलिफोनमा कुरा हुन थालेपछि माया बस्यो । उहाँ जहिल्यै ‘एस कि नो’ भनेर सोध्नुहुन्थ्यो, म बोल्दिनँ थिएँ ।

० घुम्न पनि जानुभयो होला नि ?
– मुस्किलले एकपटक फिल्म हेर्न गइयो । मेरा तीनजना जति साथी थिए, उहाँको पनि साथी थिए । फिल्म हलमा हामीलाई एकै ठाउँमा राखेर उनीहरू अन्तै बसे । टच पनि नगरी फिल्म सकियो ।

० अध्ययन ?
– आईए पास भएपछि विवाह गरेकी थिएँ, यदि तिमीले राजनीति गर्ने हो भने कम्तीमा स्नातक गर्नुपर्छ भनेर कलेज पढ्न स्कुटी किनिदिनुभो । स्नातक सकेपछि अहिले मास्र्टस ज्वाइन गरेकी छु ।