११ बैशाख २०८१, मंगलवार
Follow Us

नक्कली नोट कारोबार अभियोगमा माधव वाग्ले सहित ६ जना पक्राउ

sarusaru
३ जेष्ठ २०७५, बिहीबार ०५:३९

काठमाडौँ — नेपाली नक्कली नोट सहित फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । र,दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई पनि पक्राउ गरेकाे छ ।

निर्माता वाग्लेलाई प्रहरीले बुधबार उनकै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो भने मंगलबार नै कमलपोखरी बस्ने सुर्खेतका महेन्द्र बोगटीलाई एकलाख २० हजार बराबरका नक्कली नोटसहित र सिन्धुली घर भई ललितपुर लुभु बस्ने सुजित तामांग र साजन तामांगको कोठाबाट सात लाख ४३ हजार बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो।

प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता मोहनकुमार थापाले काठमाडौ २६ मित्रनगरका सुमधुर क्याफेका संचालकले दिएको सूचनाका आधारमा महेन्द्र बोगटीलाई नक्कली नोटसहित पक्राउ गरिएपछि अन्य अभियुक्त पक्राउ परेका हुन्।

थापाले भने, ‘बोगटीले होटलमा खाएपछि तीन हजार रुपैयाका नक्कली नोट दिएपछि सूचनाका आधारमा अन्य पक्राउ परेका हुन्। नेपाल राष्ट्र बैंकले कुनै पनि प्रयोजनका लागि नक्कली नोट छाप्न अनुमति नदिने बताएको छ।’

अपराध प्रमाणित भएमा मुलुकी ऐनको फोटो चलन महलअन्तर्गत बिगो बराबर (बरामद नक्कली नोट बराबरको रकम) जरिवाना र १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेको छ। स्रोतका अनुसार, प्रहरीले संगठीत अपराध निवारण ऐन अन्तर्गत रहेर पनी मुद्दा चलाउने बारेमा छलफल गरेको छ।

‘फस्ट लभ’ बाट फिल्म निर्माणमा आएका माधव वाग्लेले ‘चंगा चेट’ फिल्मका लागि उक्त नक्कली नोट छपाएको बुझिएको छ। फिल्मका निर्देशक दीपेन्द्र के खनालले कान्तिपुरलाई दिएको जानकारी अनुसार, फिल्म प्रोपर्टीका रुपमा ‘फिल्म प्रयोजनका लागि’ भनि लेखिएका उक्त नोटहरु आर्ट डाइरेक्सन टीमबाट दुरुपयोग भएको हो।

उनले भने, ‘नक्कली नोट बनाउने जिम्मा आर्ट डाइरेक्टर मेनुका राईमार्फत् उनका असिस्टेन्ट सुजित तामांगलाई दिइएको थियो। सुटिंग सकिएपछि केही रकम निर्मातालाई बुझाएर केही आफैंले राखेर दुरुपयोग भएको रहेछ।’

प्रहरीले अभियुक्तलाई २५ दिनसम्म थुनामा राखी अनुसन्धानका लागि हदम्याद पाउँछ। निर्माता वाग्लेले ‘लुट’ ‘लुट २’, ‘छडे’, ‘रेशम फिलिली’ लगायतका फिल्म निर्माण गरेका छन्।