७ बैशाख २०८१, शुक्रबार
Follow Us

एकताको निर्णय अनुमोदन, नयाँ पार्टी संचालनका लागि नौ सदस्यीय सचिवालय गठन

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७५, बिहीबार १०:१७

काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

बैठकले एकीकृत पार्टीको विधान पनि अनुमोदन गरेको छ । बैठकले नयाँ पार्टी संचालनका लागि नौ सदस्यीय सचिवालय बनाउने निर्णय पनि गरेको छ । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

पार्टी एकता घोषणा हुनुअघि एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिरहेको छ । एमाले केन्द्रिय समिति बैठक बालुवाटारमा र माओवादी केन्द्रको बैठक अध्यक्ष दाहालको निवास खुमलटारमा बसिरहेको हो । दुवै पार्टीको बैठकले एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गरेर पार्टी विघटन भएको घोषणा गर्ने छन् ।

त्यस लगत्तै निर्वाचन आयोग गएर दल दर्ता गर्ने तयारी छ । दल दर्तापछि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिने नेताहरुले बताएका छन् । एकिकृत पार्टीको पहिलो बैठक पनि आजै साँझ बोलाइएको छ । राजधानीको गोकर्ण रिसोर्टमा बैठक बोलाइएको हो ।