१५ चैत्र २०८०, बिहीबार
Follow Us

आखिर कसले र किन लुकाएको थियो प्रतिवेदनमा गोरेको नाम

sarusaru
३ जेष्ठ २०७५, बिहीबार १०:४८

काठमाण्डौ -३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा मुख्य अभियुक्त बनाइएका चुणामणि उप्रेती ‘गोरे’लाई प्रहरीले नै उम्काउन खोजेको तथ्य फेला परेको छ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट गोरेलाई पक्राउ गर्न भन्दै मोरङ गएका डिएसपी प्रजित केसीको टोलीले नै उनलाई उम्काउन खोजेको तथ्य फेला परेको हो।

मोरङ प्रहरीलाई केसीले बुझाएको प्रतिवेदनमा गोरेको नामसमेत उल्लेख गरेका छैनन्। सनम शाक्यको लास फेला परेको मुचुल्कासहितको प्रतिवेदनमात्र दिएको देखिन्छ।

तस्करीको ३३ किलो सुन र शाक्यको हत्याकाण्ड छानविन गर्न बनेको समितिले केसीको प्रतिवेदन देखेपछि उनलाई मोरङ पठाउने एसएसपी दिवेश लोहनी समेतलाई अनुसन्धानमा तानेको थियो। लोहनी र केसीले समितिलाई बयान दिँदा गोरे पक्राउ गर्न मोरङ पुगेको बताएका थिए।

समितिले भने महानगरीय अपराध महाशाखाका एसएसपी लोहनी, डिएसपी केसीसहितको टोलीविरुद्ध अदालतमा मुद्दा चलाउन राय दिएको थियो। उक्त रायका आधारमा उनीहरूलाई सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको छ। अदालतसमक्ष पनि उनीहरुले गोरेलाई पक्राउ गर्न मोरङ पुगेको र त्यहाँ पुग्दा शाक्यको लास बरामद भएको बयान दिएका छन्।

केसीको टोली गोरेलाई पक्राउ गर्न गएको भए त्यो कुरा प्रतिवेदनमा उल्लेख गर्नै पर्ने एक वरिष्ठ प्रहरी अधिकारीले बताए। ‘उनीहरुले गोरेलाई खोज्न जाँदा सनमको लास बरामद भएको कुरा पनि उल्लेख गर्नुपर्थ्यो, त्यही प्रतिवेदनका आधारमा थप अनुसन्धान हुने हो। छानविन समिति नबनेको भए गोरेमाथि अनुसन्धान नै हुने रहेनछ,’ ती अधिकारीले भने,’बयानभन्दा प्रतिवेदनमा लेखिएको कुराले अर्थ राख्छ।’

सनमको हत्यापछि योजनाकार गोरेले महानगरीय अपराध महाशाखामा कार्यरत सई बालकृष्ण संजेललाई फोनमार्फत् सनम हत्याको खबर गरेका थिए। गोरेले मुद्दा मिलाई दिनुपर्‍यो भन्दै मद्दत मागेपछि उनलाई पक्रन काठमाडौंबाट डिएसपी केसीको नेतृत्वमा टोली खटेको थियो।

‘सनम हत्यापछि गोरेसँगको कुराकानी, गोरेको भूमिका र गोरे भागेको कुरालाई उक्त प्रतिवेदनमा जिकिरसमेत गरिएको छैन,’ समितिका एक सदस्यले भने, ‘डिएसपी केसीले गोरेलाई उम्काउने खालको प्रहरी प्रतिवेदन बनाएर मोरङ प्रहरीलाई हस्तान्तरण गरेको देखिन्छ।’

काठमाडौंबाट गएको टोलीले सनमको शव धरानमा फेला पारे पनि विराटनगरको गोधुली मार्ग पुर्‍याएर मुचुल्का उठाएका थिए। उनीहरूले गोरेलाई पक्रन विराटनगरसम्म लासलाई सँगै लैजानु परेको बयान दिएका थिए।

‘मुचुल्का भइरहेको बेला भारतबाट आएको गोरे भन्ने चुडामणि उप्रेतीको सो फोन कलमा मैले निजलाई तिम्रो कोको प्रहरीसँग यस घटना बारेमा कुरा भएको छ भनेर सोध्दा निजले भन्न मानेन र पछि डिआइजी गोविन्दप्रसाद निरौला र एसपी विकासराज खनालसँग कुरा भएको थियो भन्यो,’ डिएसपी केसीले बयानमा भनेका छन्, ‘मैले सरहरूसंग के के कुरा भएको थियो भनेर सोध्दा निजहरूले गाडी र लाश त्रिशुलीतिर लगेर फालिदिए हुन्छ भन्ने सल्लाह दिएको बतायो र केही कुरापछि फोन राखीदियो उसले सो कुरा किन गर्‍यो मलाई थाहा भएन।’

केसीले मोरङ प्रहरीलाई बुझाएको मुचुल्का र प्रतिवेदनमा गोरेबारे उल्लेख गरेका छैनन्।

एसएसपी लोहनीले पनि उक्त प्रहरी प्रतिवेदनका बारेमा आफूलाई पूर्ण जानकारी नभएको र पछि मात्र सुनेको अदालतमा बयान दिएका छन्।