१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसको अवस्था देखेर चिन्ता लाग्छ : पूर्वराष्ट्रपति यादव

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७५, बिहीबार १४:५३

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी चनाखो हुनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको २०औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले अहिले पनि संविधानप्रति असन्तुष्टि आइरहेको भन्दै त्यसलाई व्यवस्थापन गरेर संविधानको रक्षा गरिनुपर्ने बताए ।

संविधान जारी गर्दा नै यसलाई सर्वमान्य बनाउन आफूले पहल गरे पनि नसुनिएको भन्दै उनले जनताले बनाएको संविधानकाविरुद्धमा कसैले पनि क्रियाकलाप गर्न नहुने बताए । आफू राष्ट्रपति हुनुअघि नेपाली कांग्रेसको नेता भएकाले वर्तमान कांग्रेसको अवस्था देखेर चिन्ता लाग्ने गरेको धारणा उनले व्यक्त गरे ।

पूर्वराष्ट्रपति यादवले लोकतन्त्र र प्रजातन्त्रको पक्षमा आमजनतालाई जागरुक बनाउन आवश्यक रहेकोतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा राजनीतिक चिन्तक नीलाम्बर आचार्य, नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे, राजनीतिक विश्लेषक प्रा. डा. कृष्ण खनाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीलगायतले लोकतन्त्र र प्रजातन्त्रको सम्र्बद्धनका विषयमा आ–आफ्नो दृष्टिकोण राखेका थिए ।

कार्यक्रममा कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. नारायण खड्कालगायतका नेता कांग्रेस सुधारकाबारेमा दिइएका प्रवचन सुनेर बसेका थिए ।