१३ बैशाख २०८१, बिहीबार
Follow Us

माओवादी केन्द्र ज्युँदै छ : किराँती

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७५, शुक्रबार १२:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गर्नुभएको छ । एमाले र माओवादीबीचको एकता गलत भएको आरोप पनि उहाँको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किराँतीले आजको पत्रकार सम्मेलन प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम भएको टिप्पणी गर्नुभयो ।

पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादी कित्तामा पलायन भएको समेत किराँतीको आरोप छ ।

नेता किराँतीले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फाँसीवादी दमन तथा भारतीय शासकसामु निर्लज्ज रुपमा आत्मसमर्पण गरेको आरोप लगाउनुभयो ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय भेला आयोजक समिति प्रचण्ड समूहको वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसर्मपणवाद, सांस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाहृय र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको किराँतीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिति गठन गर्ने र सर्वहारा वर्गको सेवामा माओवादी केन्द्र सँधै सर्मपित भैरहने र समाजवादी व्यवस्था लागु गर्ने प्रतिबद्धता पनि किराँतीले व्यक्त गर्नुभयो ।

विज्ञप्तिमार्फत नेता किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न समेत सबैमा आग्रह गर्नुभएको छ । एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखिनै प्रचण्ड नेतृत्वको माओवादीसँग आफूहरुले सम्बन्ध विच्छेद गरेको स्पष्ट पार्दै उहाँले दुई लाइन संघर्षको लागि आठौं महाधिवेशनको माग गर्दा उल्टै निश्काषन गरिएको आरोप समेत लगाउनु भयो ।

नेता किराँतीले हिजो एमाले र माओवादी केन्द्रले दुवै पार्टी विघटन् भएको भनेर घोषणा गरेपनि माओवादी केन्द्र विघटन नभएको स्पष्ट पार्दै विचार, भावना र ईतिहासको एकीकृत निरन्तरताको लागि नेकपा (माओवादी केन्द्र) पूर्नगठन अभियानमा जुट्न आग्रह समेत गर्नुभयो ।