१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७५, शुक्रबार १४:३७

काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत डा दुर्गाबहादुर सुवेदीले माल्टाका राष्ट्रपति मारिइ लुइस कोलेरो प्रिसासमक्ष आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

माल्टाको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति प्रिसाले नेपालमा हालै सम्पन्न तीनै तहका निर्वाचनले नेपालको लोकतान्त्रिक, समावेशी र सर्वस्वीकार्य संविधानको कार्यान्वयनका साथै नेपालको सामाजिक र आर्थिक विकासका निम्ति मार्गप्रशस्त गरेको धारणा व्यक्त गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा डा सुवेदीले वर्तमान सरकारले अंगीकार गरेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को आदर्श राष्ट्रियता, लोकतन्त्र, आधारभूत स्वतन्त्रता, सामाजिक न्याय, स्थिरता, प्रगति र विकास र सुशासनमा आधारित रहेको बताउनुभएको थियो ।